काठमाडौं, २५ माघ। प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि गरेको लिखित आग्रहलाई एमाओवादीले अस्वीकार गर्ने प्रारम्भिक संकेत देखिएको छ ।
वार्ताको आहृवान गर्दै प्रधानमन्त्रीले वक्तव्य दिनु सकारात्मक भए पनि सम्वादको वातावरण भने नबनेको उसले बताएको छ ।
वार्ताका लागि प्रधानमन्त्रीको आहृवानबारे प्रारम्भिक टिप्पणी गर्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले अनलाइनखबरसँग भने-‘प्रधानमन्त्रीको वक्तव्य अमूर्त छ, यसमा संविधानसभाको बहुमतीय प्रक्रिया रोक्ने संकेत देखिएन र विगतमा दलहरुवीच भएका सहमति कार्यान्वयन गर्ने पनि देखिएन ।’
यद्यपि प्रधानमन्त्रीको आहृवानबारे आन्दोलनकारी दलहरुसँग छलफल गर्न भन्दै सिरहामा रहेका प्रचण्ड आइतबारै काठमाडौं आएका छन् । स्रोतका अनुसार प्रचण्डले स्वकीय सचिव चूडामणि खड्काले प्रधानमन्त्रीको वक्तव्य धनुषामा पढेर सुनाएका थिए ।
आइतबार अपरान्ह राजधानी फर्केका प्रचण्डले सोमबार ३० दलीय मोर्चासँग छलफल गरेपछि मात्रै प्रधानमन्त्रीको पत्रबारे जवाफ दिने बताएका छन् । ‘महासचिवले पार्टीको आधिकारिक धारणा बोल्नुभएकै छ,’ एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका प्रचण्डका स्वकीय सचिव खड्काले अनलाइनखबरसँग भने ।
प्रधानमन्त्रीको वक्तव्य आएपछि प्रचण्ड राजधानी फर्केको नभई नियमित कार्यक्रमअनुसार नै फर्केको खड्काले स्पष्ट पारे । ‘उहाँ प्रधानमन्त्रीको वक्तव्य आएकाले राजधानी आउनुभएको होइन’-उनले भने ।
‘आन्दोलनमाथि भ्रम पार्ने नियत’
विरोधका वीच प्रश्नावली समिति बनाएपछि प्रचण्ड मोर्चाले सत्तारुढ पार्टीसँग वार्ता नगर्ने निर्णय गरेको थियो । तर, मध्यमार्गी नेताहरुको पहलमा केन्द्रीय समिति बैठकले १२ बुँदे सहमति र विगतको सम्झौताअनुसार संविधान बनाउने प्रतिवद्धता आए वार्तामा बस्ने निर्णय गरेको थियो ।
एमाओवादी केही लचिलो भएपछि सत्तारुढ दलका मध्यमार्गी नेताहरुको पहलमा प्रधानमन्त्री कोइरालाले आइतबार वार्तामा आउन आहृवान गरेका हुन् ।
तर, प्रधानमन्त्रीको वक्तव्यमा सहमतिबाटै संविधान बन्छ भन्ने सुनिश्चितता भन्दा पनि एमाओवादी मोर्चाले थालेको आन्दोलनमाथि भ्रम पार्ने नियत देखिएको महराले आरोप लगाए । उनले भने- ‘प्रधानमन्त्रीको आह्वान मैले सर्शर्ती सुनें, यो मेरो प्रारम्भिक प्रतिक्रिया हो ।’
प्रधानमन्त्रीको वक्तव्यबारे पार्टीभित्र छलफल हुन्छ कि भन्ने प्रश्नमा महासचिव महराले भने-‘महासचिवले बोलेपछि अहिलेलाई यही कुरा आधिकारिक हो ।’
उता नेपालगञ्जमा रहेका एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको वक्तव्य पढेपछि संविधानसभाको प्रक्रिया रोक्ने संकेत नदेखिएको भन्दै आन्दोलन नरोक्ने बताएका छन् ।
सहकार्यको प्रस्ताव सकारात्मक
प्रधानमन्त्रीको वक्तव्यमा जनआन्दोलनका सहयात्रीवीच सहकार्य गरी संविधान निर्माणमा अघि बढ्ने प्रस्ताव भने सकारात्मक रहेको एमाओवादी महासचिव महराको भनाइ छ । उनले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘प्रधानमन्त्रीले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीहरु मिलेर जाने कुरा गरेको चाँहि राम्रै हो ।’
‘सहमति’ भनेको भए आन्दोलन रोक्न बाध्य हुन्थ्यौं : वर्षमान
एमाओवादी सचिव वर्षमान पुन अनन्तले पनि प्रधानमन्त्रीबाट वार्ताका लागि लिखित वक्त्तव्य जारी हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले भने- ‘तर यसले सम्वादको ढोका भने अझै खोलेको छैन, यो वक्तव्य अमूर्त अपूरो छ ।’
के गर्दा वार्तामा बस्नुहुन्छ त भन्ने प्रश्नले एमाओवादी सचिव पुनले भने-‘१२ बुँदे समझदारी, अन्तरिम संविधान र शान्ति सम्झौताको मर्म र भावनाअनुसार सहमतिमै संविधान जारी गर्छु भनेको भए वार्तामा बस्न र सडक आन्दोलन रोक्न बाध्य हुन्थ्यौं ।’






