सलमान खानलाई ब्रिटिश पार्लियामेन्टको सम्मान

नयाँ दिल्ली– बलिउड सुपरस्टार सलमान खान ब्रिटिश पार्लियामेन्ट हाउसबाट ‘ग्लोबल डाइवर्सिटी अवार्ड २०१७’ बाट सम्मानित भएका छन्। सलमानलाई स्टार अभिनेता र निर्माताको रुपमा भारतीय फिल्म उद्योगमा गरेको योगदानका साथै प्रसिद्ध टेलिभिजन सो ‘बिग बोस’, गायक र समाजसेवीको नाताले सम्मानित गरिएको बताइएको छ।

ब्रिटिस पार्लियामेन्ट हाउसबाट पुरस्कार पाउने सलमान बलिउड अभिनेता सलमान खान र ऐश्वर्या राय बच्चनपछि तेस्रो कलाकार हुन्। पुरस्कृत भएपछि सलमान खुसी देखिए। उनले हाँस्दै भने, ‘मेरो बुवालाई कहिले लागेन, म यति ठूलो सम्मानको लायक बन्छु भनेर।’

ब्रिटिश संसदमा लामो समयदेखि सांसद रहेका भारतीयमूलका किथ वाजले यो पुरस्कार हस्तान्तरण गर्ने क्रममा भने, ‘सलमान खान विश्वभरीका लाखौं व्यक्तिको रोल मोडल हुन्।

सिनेमाबाहेक पनि उनी समाजसेवामा सक्रिय छन्। ‘बिइङ ह्युमन’ नामक एनजिओमार्फत उनले गरिबहरुको जीवन रक्षाका लागि काम गरेका छन्। उनलाई पुरस्कृत गर्नु हाम्रो लागि पनि सम्मानको विषय हो। मलाई गर्व छ, विश्वभरीबाट एसियाली युवाले सलमान खान जस्तो रोल मोडल पाएका छन्।’