काग्रेसले अधिनायकवादी शैली अपनायो: एमाले नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली काग्रेसले अधिनायकवादी शैली अपनाएको बताउनु भएको छ । अहिले कम्युनिष्टहरुविच बाम गठबन्धन भएको देखेर आत्तिएको काग्रेसको शैली अधिनायकवादी भएको आरोप लगाउनु भएको हो ।

इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उहाँले अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदै गएका छन् । देशमा जस्तोसुकै अप्ठ्यारा र अवरोध आएका बेला वाम शक्ति एक भएपछि समाधान भएको स्मरण गर्दै उहाँले सिद्धान्त र विचार मिल्ने वाम शक्तिबीच एकता हुने र यसले संविधानको पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको बताउनुभयो । अब देशले छिट्टै निकास पाउनेछ, वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर पाँच वर्षसम्म परिवर्तन ल्याउँछ, नेता खनालको भनाई थियो । इलाम जिल्ला पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि पहल गर्ने बताउँदै उहाँले यस क्षेत्रको सडक, विद्युत, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।