संशोधन टेबुल गर्ने निष्कर्षमा सत्तारुढ दल

काठमाडौँ, २१ पुस । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको त्रिपक्षीय बैठकमा यही पुस २४ गते आइतबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव अगाडि बढाउने सहमति भएको हो ।

संविधान संशोधन प्रस्ताव टेबल गर्ने र स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने पूर्व सहमतिअनुसार उक्त प्रस्ताव अगाडि बढाउने निर्णय भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको फैसलापछि संशोधन प्रक्रिया अगाडि बढाउन सहज भएको निष्कर्ष निकाल्दै बैठकले सकेसम्म प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० लगायतका दलको सहमतिमा नै संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन प्रस्ताव टेबल हुनेमा आशंका नगर्न मोर्चा आवद्ध दललाई आश्वासन दिँदै सकेसम्म प्रमुख प्रतिपक्षीको समेत सहमति लिइने र उनीहरुलाई पनि सहमतिमा ल्याइने बताउनुभएको थियो ।