लन्डन- सरकारले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमणको निम्तो दिएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायती मन्त्रीहरुमार्फत क्यामरुनलाई नेपाल घुम्न फेरि निम्तो दिएका छन् । चार महिना अवधिमा दोस्रोपटक लन्डन आएका मन्त्री थापाले बुधबार बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायनसँग बेग्लाबेग्लै भेटका क्रममा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण पुनस् स्मरण गराएका हुन् ।
बेलायत नेपाल दौत्य सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाउने क्रममा यसअघि यूके आउँदा थापाले नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीलाई भ्रमणको औपचारिक निम्तो दिएका थिए । इतिहासमै अहिलेसम्म बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण भएको छैन ।
भेटका क्रममा मन्त्री थापाले हालै भएको बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणबारे स्मरण गर्दै उक्त भ्रमणलाई नेपाल र नेपाली जनताले उच्च महत्व र आत्मियताका साथ लिएको र यसले दुई देशबीच सम्बन्ध अझ सुदृढ भएको उल्लेख गरेका थिए ।






