लन्डनमा यती फिल्म अवार्डको व्यपाक तयारी दर्जनौ चर्चित कलाकार को को आए ?

लन्डन । बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) को व्यापक तयारी गरिएको छ ।सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो ।करिब दुई दर्जन कलाकार लन्डन आउने क्रम जारी रहेको आयोजकले जनाएका छन् ।

यही १४ सेप्टेम्बर शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा हुन लागेको अवार्ड कार्यक्रममा भाग लिन कलाकारहरु भुवन केसी, अनमोल केसी, केकी अधिकारी, जसिता गुरुङ, मिरुना मगर, जिया केसी, सुशान्त खत्री, मलिना जोशी, गरिमा शर्मा, शिल्पा मास्के आदि लन्डन आइसकेका छन् ।

अवार्डमा कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिने र १६ विद्यामा अवार्ड दिइने आयोजकको भनाइ छ । वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ति फिल्म २६ दिन लगाएर मूल्यांकन गरेको यतीको भनाइ छ ।

बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवानले नेपाली चलचित्र उद्योगको प्रवर्धन एवं कलाकारहरुलाई प्रोत्साहन गर्न बेलायतमा पहिलोपटक उत्कृष्ट स्तरमा अवार्ड वितरण गर्न लागिएको प्रष्टयाइन् ।

प्रमुख संयोजक उमेशराज मोक्तानले विगतमा भएका भन्दा अझ उत्कृष्ट र अवार्डको उचाईं बढ्ने गरि कार्यक्रम गर्न सक्दो प्रयास गरिएको बताए ।

नेपाली चलचित्रलाई टेवा र विदेशका अन्यत्र शहरमा समेत यस्ता कार्यक्रम गर्न प्रोत्साहन मिलोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

मोक्तानले अवार्डपछि बेलायत र नेपालका कलाकारहरुबीच एक अन्तरक्रिया कार्यक्रम गर्ने तयारी भएको पनि जनाए ।

अभिनेता भुवन केसीले अवार्ड कार्यक्रमले नेपाली चलचित्र उद्योग, कलाकार र कला संस्कृतिलाई प्रवर्धन प्रोत्साहन गर्ने आशा व्यक्त गरे । यस्ता कार्यक्रमको निरन्तरताले भविष्यमा लन्डन नेपाली फिल्मको मुख्य बजार बन्न सक्ने उनको अपेक्षा थियो ।

उत्कृष्ट बनाउने लक्ष्यसहित गर्न लागिएको कार्यक्रमको शुभकामना दिंदै केसीले यूकेवासी नेपालीलाई १४ सेप्टेम्बरको कार्यक्रममा आइदिन अपिल पनि गरे ।

पत्रकार सम्मेलन सञ्चालन गर्दै यती महासचिव टंक भट्टराईले अवार्ड कार्यक्रमका लागि विगत ७ महिनादेखि निरन्तर खटिइएको बताए । यसलाई निरन्तरता दिन पनि दर्शकहरुको माया र साथ खांचो रहेको उनले औंल्याए ।उपमहासचिव आशिष पन्तले टेनिसका लागि वीम्बल्डन, फुटबल खेल्न वेम्ली स्टेडियम, क्रिकेट खेल्न लर्डस् सपना देखे जस्तै फिल्म अवार्ड भन्दा यतीको होस् भन्ने बनाउन आफूहरुको प्रयास जारी रहने बताए । पन्तले एक दुई पटकमात्र नभइ वर्षौंसम्म अवार्ड गरिने अठोट समेत व्यक्त गरे ।

सांझ ५ देखि शुरु हुने कार्यक्रम हेर्न टिकेट मूल्य ४० (नर्मल), ५० (भिआइपी) र १०० (भिभिआइपी) पाउण्ड तोकिएको छ ।

कार्यक्रममा आयोजकले नेपालबाट आएका चर्चित कलाकारहरुले नाचगानसहित पूर्ण मनोरञ्जन दिने जनाउंदै बेलायतवासी नेपाली सबैलाई आएर कलाकारलाई माया र हौसला दिन सबै दर्शकहरुलाई इभेन्ट हेर्न आइदिन अनुरोध गरे ।