लण्डन । बेलायतमा नयां गृहमन्त्रीमा आप्रवासी पृष्ठभुमिका एक नेता नियुक्त भएका छन् ।
क्यारेबियन क्षेत्रका आप्रवासीलाई बेलायत सरकारले गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका एक मुद्धालाई ह्याण्डल गर्ने क्रममा विवादित बनेर यसअघिकी गृहमन्त्री एम्बर रुडले पदबाट राजिनामा गरेपछि ४८ वर्षीय साजिद जाभिद नयां गृहमन्त्री नियुक्त भएका हुन् ।
जाभिद बेलायतको इतिहासमै ‘इथ्निक माइनोरिटी कम्युनिटी’बाट गृहमन्त्री बन्ने पहिलो नेता हुन् ।
सन् २०१० देखि बोम्सग्रोभ क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको जिम्मेवारीमा रहेका जाभिदले गृहमन्त्री नियुक्त भएलगत्तै आफ्नो पृष्ठभुमि पनि आप्रवासी नै रहेको उल्लेख गर्दै इमिग्रेसन नियन्त्रणको मुद्धालाई संवेदनशिल रुपमा नेतृत्व गर्ने प्रतिबद्धता गरेका छन् ।
यसैगरि गृहमन्त्री नियुक्त जाभिदले आफु ‘नन प्राक्टिसिङ मुस्लिम’ रहेको बताउने गरेका छन् ।
गृहमन्त्रीमा जाभिद नियुक्त भएलगत्तै लण्डनका वर्तमान मेयर सादिक खान मेयर खानले उनलाई बधाई ज्ञापन गर्दै आप्रवासीहरुप्रति हुंदै आएको शत्रुतापुर्ण व्यवहार अन्त्य गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।






