लन्डन । आसन्न एनआरएनए यूके निर्वाचनका उम्मेदवारहरुबीच क्याम्ब्रीजसायरको पिटरबरोमा अन्तरक्रिया भएको छ । आइतबार भएको कार्यक्रममा लन्डन र पिटरबरोवासी उम्मेदवार एवं नेपाली अगुवाहरुसंग अन्तरक्रिया भएको हो ।
कार्यक्रममा सचिव पदका उम्मेदवार नारायण गाउंलेले आफू विज्ञ वा सक्षम भन्दा पनि अघिल्लो कार्यसमितिमा आवद्ध अग्रजहरुले गर्न नचाहेको एजेन्डा संघमा लागू गर्न उम्मेदवारी दिएको बताए । उनले भाषा, साहित्यमा काम गरेको अनुभव सुनाउंदै यी विद्या एनआरएनए भित्र समेटिनुपर्छ भन्ने भावना अहिलेसम्म नदेखिएकाले आफ्नो उम्मेदवारी आएको प्रष्ट्याए । बाहिर बस्ने नेपालीलाई मातृभूमिसंग जोड्ने माध्यम भाषा भएकाले नयां नेतृत्वमा पुगे वहुभाषिक गोष्ठी, सेमिनार आदि रचनात्मक काम गर्ने उनको प्राथमिकता छ ।
कोषाध्यक्षका उम्मेदवार महेश गिरीले आर्थिक पारदर्शीता आफ्नो मुख्य मुद्दा भएको बताए । संघमा सबैभन्दा पहिला आउनुपर्ने पारदर्शीता एजेन्डा कहिल्यै नआएकाले त्यो कार्यान्वयन गराउने अठोट उनको छ ।
वर्तमान सचिव एवं सहमहासचिवका उम्मेदवार कृष्ण तिवारीले वर्तमान कार्यसमितिले धेरै उपलव्धिमुलक काम नगरेपनि विवादरहित भने रहेको बताए । आकाशको तारा झार्ने एजेन्डा नभएपनि पद अनुसारको जिम्मेवारीमा न्याय गर्ने उनले बताए । आफ्नो एकेडेमिक पृष्ठभूमि भएकाले नयां अध्यक्षको कार्ययोजनामा सक्रिय सहभागिता रहने उनको प्रतिवद्धता छ । एनआरएनएका कार्यक्रम नेपाली परम्परा अनुसार लामो भाषण, एकै खालका व्यक्ति अतिथी रहंदै आएकामा त्यसको अन्त्य गर्ने पनि तिवारीको दावी छ ।
एनआरएनए यूके आइसीसी सदस्यका उम्मेदवार देवराज आचार्य (चिरन शर्मा) ले एनआरएनए अभियानमा सन् २००५ देखि सक्रिय रहेपनि नेतृत्वमा नपुग्दा कतिपय अवस्थामा गर्न चाहेको काम गर्न नपाएपछि उम्मेदवारी दिएको बताए । दोहोरो नागरिकता विषयमा संस्थागत लवी नपुगेको धारणा राख्दै उनले आफू आइसीसी केन्द्रिय समितिमा पुगे छलफल चलाउने उल्लेख गरे ।
पिटरबरो नेपाली समाजका अध्यक्ष एवं एनआरएनए यूके सदस्यका उम्मेदवार पवन शर्माले संघ अहिले क्लबका रुपमा देखिएकाले त्यो परिवर्तनका लागि सोचको विजारोपण गर्न आफूहरु नेतृत्वमा जान लागेको बताए ।
पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारीले नयां पुस्तालाई समेट्ने संस्था एनआरएनए नै भएको बताउंदै भावी दिनमा संघको महत्व झन् बढि हुने बताए । नयां पुस्ता र वुद्धिजिवीलाई एनआरएनप्रति आकर्षित गराउन चुनौति रहेको बताउंदै भण्डारीले यसमा समन्वयको खांचो औंल्याए । निर्वाचन मार्फत अलिक खारिएका र योग्य व्यक्ति आगामी नेतृत्वमा आउने विश्वास उनलाई छ ।






