इतिहास मै पहिलो पटक एकै ठाउँबाट ८८ किलो सुन बरामद

काठमाडौं । सुन तस्करीका समाचार बेला–बेला प्रकाशमा आइरहे पनि इतिहास मै पहिलो पटक ८८ किलो सुन एकै ठाउँबाट बरामद भएको छ । यति धेरै सुन बरामद भएको यो पहिलो पटक हो ।

प्रहरीले सोमबार बिहान राजधानीको ठमेलमा एउटा गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार गोप्य सुराकीका आधारमा आइतबार रातिबाटै निगरानीमा खटिएको प्रहरी टोलीले सोमबार बिहान एउटा गाडीबाट उक्त सुन बरामद गरेको हो ।

प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । सुन तस्करीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त सुन चीनबाट केरुङ नाका हुँदै भित्र्याइएको आशंका गरिएको छ । (imagekhaber)