नेपाल टेलिभिजनमा भर्ना प्रक्रिया पनि शंकास्पद

काठमाडौं, पुस १८ – नेपाल टेलिभिजनको कर्मचारी भर्ना प्रक्रियामा पनि छानविन सुरु भएको छ । सरकारी संस्थान सरहको निकायमा अन्तर्वार्ताको भरमा अधिकृतस्तरका कर्मचारी छनौट गर्न थालिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सुशासन तथा राज्य व्यवस्था समितीमा छानविनका लागि उजुरी परेको छ ।

‘उजुरीका आधारमा प्रारम्भिक छानविन शुरु भइसकेको छ’ अख्तियारस्रोतले भन्यो, ‘सेवाकालिन प्रशिक्षणको नाममा कर्मचारी भर्ना गरी ६ महिनापछि करार गर्ने र पछि स्थायी नियुक्ति दिने तयारी रहेको देखिन्छ । टेलिभिजनकै विनियममा व्यवस्था भएको प्रक्रिया पनि अपनाइएको छैन ।’ टेलिभिजन सञ्चालक समिति बैठकको निर्णय नम्बर ४७२५ मा नियुक्ती प्रक्रियावारे असहमत सञ्चालकको राय पनि छानविनका क्रममा अख्तियार पुगेको छ ।

टेलिभिजनको सेवा शर्त विनियमावली अनुसार, अधिकृतस्तरका कर्मचारी छनौटका लागि लिखित, अन्तर्वाता र प्रयोगात्मक परिक्षा जरुरी पर्छ । तर टेलिभिजन व्यवस्थापनले १० जना संवाददाता/प्रस्तोता, ५ जना क्यामेरापर्सन, २ जना ध्वनि नियन्त्रक र ५ जना दृश्य सम्पादकको पदपूर्तिका लागि प्रयोगात्मक परिक्षा र अन्तर्वार्तामात्रै लिने तयारी गरिएको छ ।यसपटकको भर्ना प्रक्रियामा भने समितीमा कर्मचारी युनियन र पत्रकार महासंघका दुई सदस्य राखिएको छ भने लोकसेवाका प्रतिनिधिलाई आमन्त्रितको रुपमा बोलाउन सकिने निर्णय भएको छ । संसदको सुशासन समितीमा समावेशी प्रक्रिया नअपनाइएको अनुकुलतामा कर्मचारी छनौट गर्न मिल्नेगरी सूचना निकालिएको भन्दै उजुरी परेको छ । यसवारे प्रतिक्रिया लिन खोज्दा टेलिभिजनका अध्यक्ष नीर शाह सम्पर्कमा आउन चाहेनन् ।