लन्डन– गैरआवासीय नेपाली संघ (यूके) को महासचिवमा विशेष योजनासहित आरके त्रिपाठीको उम्मेदवारी परेको छ । त्रिपाठीको उम्मेदवारीसँगै महासचिवको प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ ।
सेप्टेम्बर ७ मा हुने अधिवेशनको तयारी भइरहँदा महासचिवका उम्मेदवार त्रिपाठीले चुनावी अभियान तीव्र बनाएका छन् । पेसाले इञ्जिनियर त्रिपाठी विगत १२ वर्षदेखि लन्डन अन्डरग्राउण्डमा सिभिल इञ्जिनियरकोरुपमा कार्यरत छन् । त्रिपाठी सामाजिक र बौद्धिक व्यक्तित्वकोरुपमा चिनिन्छन् ।
विभिन्न सामाजिक संघ संस्थाका सल्लाहकार रहेर काम गरिरहेका त्रिपाठी नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री थिए ।
पछिल्लो समयमा कन्स्ट्रक्सन हेल्थ एण्ड सेफ्टी विषयमा विशेषज्ञता हासिल गरेका त्रिपाठी क्वालिटी कन्ट्रोल विषयमा पुस्तक लेखेका छन् । एनआरएन यूकेको दोस्रो अधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएका त्रिपाठी झिनो मतले पराजित भएका थिए । सुर्य गुरुङले नेतृत्त्व गरेको तेस्रो कार्यसमितिको चुनावबाट उनी सदस्य पदमा निर्वाचित भई काम गरे । चौथो अधिवेशनमा महासचिव पदमा पराजित भएका त्रिपाठी पाँचौं अधिवेशनमा भने महासचिव निर्वाचित भए ।
छोटो समय एनआरएन महासचिवको जिम्मेवारी पाएका त्रिपाठीले सामाजिक र लोककल्याणकारी कार्य गर्दै आएका छन् । प्रवासमा रहेका ३० लाख नेपालीका लागि एनआरएन मन्त्रालयको माग गरेर उनी चर्चामा आएका थिए । वालिग मताधिकारलगायतका माग उनले गर्दै आएका छन् ।
त्रिपाठीको उम्मेदवारीमा एनआरएन यूकेका अग्रज एवं युवा अभियन्ताहरुको साथ छ । अध्यक्ष उम्मेदवार हिराधन राई, सूर्य नेम्वाङ, विश्वदीप तिगेला, तस्बिर लामालगायतले उनलाई साथ दिएका छन् ।
तमु धींलगायतका सामाजिक संघ संस्थाले बलियो समर्थन गर्ने त्रिपाठीको विश्वास छ ।
स्रोतका अनुसार त्रिपाठीलाई महन्त श्रेष्ठ, शिवजी श्रेष्ठ, युवराज गुरुङ, सूर्य गुरुङ, डा. राघव धिताल, डा. पदम सिंखडा, सुरेशजंग शाह, मदन थापा, उमेश मोक्तान, हरिसिंह थापा, गोपाल पौडेल, माधव थापा, गंगा राना, विष्णु वाग्ले, राम अधिकारी, विजय थापा, सनत गुरुङ, सुभास सिंह गुरुङ, चित्र बहादुरलगायतले साथ दिएका छन् ।






