लन्डन– तमु समाज यूकेले सांसद प्रा.डा. गणेशमान गुरुङको स्वागतमा एक बिशेस कार्यक्रमका बीच रात्रिभोज सम्पन्न गरेको छ ।
१३ अगस्ट शनिबारको साँझ ग्रीनफोर्ड टाउन हलमा भएको कार्यक्रममा सांसद गुरुङकी धर्मपत्नी सरस्वती गुरुङ एबं छोरा सुबर्ण गुरुङ को पनि उपस्थिति थियो । सांसद गुरुङ र तमु समाज यूकेका अध्यक्ष अर्जुनकुमार गुरुङले दीप प्रज्जवलन गरी कार्यक्रम उदघाटन गर्नुभएको थियो ।
सांसद डा. गुरुङ दम्पतीलाई तमु समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ लगायतले खादाले स्वागत गर्नुभयो ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष शिवशरण गुरुङले समाजको घर खरिदको विषयमा जानकारी दिनुभएको थियो भने हाउजिङ संयोजक तथा सल्लाहकार सुवाससिंह गुरुङले घर खरिदबारे प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा घर खरिद गर्न सबैभन्दा बढी आर्थिक सहयोग गर्ने हरिमान गुरुङ, धर्मपत्नी लक्ष्मी गुरुङ तथा छोरी स्वस्ती गुरुङलाई समाजको तर्फबाट आभार व्यक्त गरिएको थियो । उनले ४ हजार ५ पाउण्ड सहयोग गरेका थिए ।
समाजका महासचिव ज्ञान गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा घर निर्माणमा प्रतिबद्धता व्यक्त गर्नेहरुको नामावली पढेर सुनाउनुभएको थियो भने उपाध्यक्ष बिजु गुरुङले व्यवस्थापन सम्हाल्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले नेपालको समसामयिक राजनीति, संविधान निर्माण तथा कार्यान्वयनबारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले भूकम्पपीडितका लागि समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा कलाकार बीरु लामा, जुनाश्रीश मगर लगायतले लोक दोहोरि सहित आ आफ्नो प्रस्तुति दिएका थिए । तमु समाज यूकेले कार्यक्रममा सहयोग गर्नुहुने बीबी एन टिभी का बिसन गुरुङ तथा निरा गुरुङ साउण्ड सिस्टमका चाद लामा प्रति आभार व्यक्त गरेको छ । भोजन व्यवस्थापन रारा रेस्टुरेन्टले गरेको थियो ।






