क्षतिपूर्तिको कुरा नमिल्दा आफन्तले शव बुझेनन्

काठमाडौँ, १ भदौ । काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् ।

क्षतिपूर्तिबारे आज दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बुझ्न र शव परीक्षण गर्न दिएका छैनन् ।

मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा सहमति हुन नसकेको हो । वार्ता मंगलबार बिहान पुनः बस्ने जनाइएको छ ।

समितिका अध्यक्ष जितबहादुर भारतीले तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई थप क्षतिपूर्ति उपलब्ध गराउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक धेरै भएकाले हामीले थप क्षतिपूर्ति दिन सक्दैनौ, अबको हाम्रो लक्ष्य भनेको घाइतेको उपचारमा विशेष ध्यान केन्द्रित गर्नु हो । घाइतेको उपचारमा जति खर्च भए पनि समितिले बेहोर्छ ।”

वार्तामा समितिका सल्लाहकार एवम् वरिष्ठ उपाध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष नृपध्वज महत, उपाध्यक्ष केशवराज भारती, कोषाध्यक्ष राजकमार बस्नेत र पीडितका तर्फबाट सांसद तीर्थ लामा, विदुर सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।