राप्रपा नेपाल आक्रोशित

राप्रपा नेपालले आफ्ना एजेन्डालाई प्रश्नावलीमा पनि समावेश नगर्ने हो भने संविधानसभाबाट बाहिरनुपर्ने अवस्था आउने चेतावनी दिएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार पत्रकार सम्मेलन गर्दै राप्रपा नेपालले पार्टीले उठाउँदै आएका राजसंस्था, हिन्दूधर्मसापेक्ष र संघीयतासम्बन्धी विषयलाई प्रश्नावलीमा पनि समावेश नगरी निषेध गरिएको भन्दै यसरी नै अगाडि बढेमा राप्रपा नेपाल संविधानसभाबाट बाहिरिनसक्ने बताएको हो ।
प्रश्नावली समिति बहिस्कार गरेको राप्रपा नेपालले गणतन्त्र, धर्म निरिपेक्षता र संघीयता जस्ता विषयलाई पनि विवादित विषयमा समावेश गरी छलफलमा लैजानुपर्ने माग गर्दै आएको छ । पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको शक्तिलाई निषेध गरेर अगाडि बढ्न खोजिएकाले सडक आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए । उनले संविधानसभामा आफ्नो क्षमता र आकारअनुसारको प्रतिवाद गर्ने पनि बताए ।
एमाओवादी र मधेसी मोर्चालाई समेत प्रक्रियामा सामेल गराउनुपर्ने बेलामा कांग्रेस–एमालेले आफूहरुलाई समेत पाखा लगाउन लाग्नु दुःखद भएको थापाले बताए । प्रस्ताव समितिको विरोधमा रहेका दलहरुतर्फ संकेत गर्दै सडकमा रहेका शक्तिसँग जुनसुकै बेलामा पनि भेट हुन सक्ने तर अहिले नै कुनै संवाद भने भइनसकेको थापाले जानकारी दिए ।