भारतमा एक युवा सुधार गृहमा सोमबार अनेकौँ तन्ना गाँठोपारी तीन तल्ले भवनबाट ओर्लन प्रयोग गरी दर्जनौँ बन्दी त्यहाँबाट भागेको जानकारी प्रहरीले दिएको छ । मीरुतको युवा सुधार केन्द्रबाट जम्मा ९१ बन्दी भाग्न सफल भएको र त्यसमा हत्यामा दोषी प्रमाणित भएका व्यक्ति पनि रहेको जानकारी दिइएको छ । यसो भए पनि ३५ बन्दीलाई पुनः पक्राउ गरिएको जानकारी नगरका प्रहरी अधिकारी ओम प्रकाशले दिनुभयो ।
उत्तर प्रदेशको मीरुतमा रहेको उक्त युवा सुधारगृहमा प्रहरीले अगाडितिर सुरक्षा दिएको समयमा यी बन्दीले घरको पछाडितिर एक झ्यालमा रहेको फलामको जाली निकालेको प्रहरी अधिकारी प्रकाशले बताउनुभयो । उहाँले उक्त कार्य निकै सफल रूपमा गरेको र त्यसको आशङ्का समेत कसैलाई नभएको बताउनुभयो ।
उहाँले अझै पनि फरार बन्दी हत्या, बलात्कार, चोरी तथा डाका मुद्दामा प्रमाणित अपराधी भएको बताउनुभयो । यी सबै बन्दीको उमेर १८ वर्षभन्दा कम रहेको बताइएको छ । प्रहरीले यी बन्दी रातीको १ः०० देखि ३ः०० बजेसम्म भागेको र गस्तीमा रहेका प्रहरीले केही बन्दीले सार्वजनिक यातायात रोक्न प्रयास गरेको समयमा उनीहरूलाई फेला पारेपछि त्यहाँ सतर्कताको घण्टी बजाइएको जानकारी दिएको छ ।
डिसेम्बर महिनामा यसै सुधार गृहमा बन्दीहरूले एक प्रहरीलाई कुटेर मारेका थिए । ती बन्दीले एक अदालती सुनुवाइमा अश्लील व्यवहार गरेकोमा बिरोध गरेकाले ती प्रहरीलाई मारेको बताइएको छ । भारतमा हाल युवा सुधार केन्द्रहरूमा करिब ३१ हजार यस्ता बन्दी रहेको औपचारिक तथ्याङ्कमा देखिएको छ । रातीको समयमा यी बन्दीलाई बाँधेर ताल्चा लगाउनुपर्ने र सामान्यतया छुट्टै कोठामा राख्नुपर्नेमा शयनकक्षमा सुत्न दिइने गरिएको बताइएको छ ।
भारतमा तन्ना प्रयोग गरी बन्दी भागे






