प्रवासी नेपाली मञ्च यूकेको दशौं वार्षिकोत्सव संम्पन्न :

शिब भण्डारी

लन्डन

प्रवासी नेपाली मञ्च यूकेले विभिन्न कार्यक्रमसहित लन्डनमा स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । ‘बहुपहिचान सहितको नेपालको संघीय लोकतान्त्रिक संविधान, शीघ्र जारी गर्न सर्वत्र दवाव सिर्जना हाम्रो अभियान’ नाराका साथ मनाइएको दशौं वार्षिकोत्सव कार्यक्रमका अवसरमा आइतबार संघीयताबारे वृहत गोष्ठी भयो ।

ब्लु अर्किड रेष्टुरेन्ट ग्रीनफोर्ड मा आयोजित उक्त गोष्ठीमा विशेष अतिथि अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदीले ‘संघीय लोकतान्त्रिक संविधान, वास्तविकता र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै धारणा राखे ।  कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य डा. विजय पौडेलले ‘संविधान निर्माणका सन्दर्भमा नेकपा (एमाले) का दृष्टिकोणहरु  चुनौती र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेकपा (एमाओवादी) र आफूलाई मधेशवादी भन्नेहरु नै संघीयताका वास्तविक विरोधी भएको आरोप लगाए । उनले देश संघीयतामा लैजांदा आमजनताबाट प्रत्यक्ष रुपमा निर्वाचित शासक बनाउंदा नै राजनीतिक स्थिरता र राष्टिय एकता प्रवद्र्धन गर्न सजिलो हुने उल्लेख गरे ।

 

 

 

त्यसैगरि, मञ्चका सल्लाहकार समितिका अध्यक्ष डा. अच्युत गौतमले ‘संघीयताः अल्झिएको विगत, बल्झिंदो भविष्य’ बारे र लिभरपुल विश्वविद्यालयका प्रोफेसर डा. पदम सिम्खडाले ‘संघीयतामा सामाजिक रुपान्तरण’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य महेश्वर पाठक, एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री शिव तिमिल्सिना, मञ्चका सल्लाहकार राजेन्द्र पुडासैनी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष रामजी बरालले स्वागत मन्तव्य र अर्का उपाध्यक्ष एवं कार्यक्रम संयोजक रविन्द्र कंडेलले धन्यवाद मन्तव्य दिए । मञ्चले संस्थापक अध्यक्ष आङकल्जङ लामा र संस्थापक संयोजक लय प्रसाईंलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, राजनीतिक दलका प्रतिनिधिसंगै सर्वसाधारणको सहभागिता थियो भने संचारकर्मीहरु को बाक्लो उपस्थति रहेको थियो ।