भरतपुर प्रकरणको सुनुवाई खड्का र सिन्हाको ईजलासमा

काठमाडौं- भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनः मतगणना सम्बन्धी विवादको टुंगो लगाउन शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ। आज यस सम्बन्धि मुद्धाको सुनुवाई हुन लागेको हो। आजका लागि यसको सुनुवाई गर्नका लागि न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलास तोकिएको छ ।

यसअघि कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र,मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो ।

ती सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।