काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क हटाइएको छ ।
प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ थियो । तर यससम्बन्धी समाचार सार्वजनिक भएसँगै फर्जी तथ्याङ्क हटाइएको हो ।
वेभसाइटमा उल्लेख भएको सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क छ ।
प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै थियो ।
सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार ४८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए ।
“ निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारीस गरिएकाको सङ्ख्या पाँच हजार ७३० छ, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”– उनले भने ।
प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक वर्षको प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहायता लिएको रहस्य खुलेको छ ।
ज्ञवालीले पुस १२ गते ‘पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी मुख्य कार्य प्रगति विवरण’ शीर्षकमा प्राधिकरणको वेभसाइटमा राखेको विवरणमा ४१ हजार ३११ घर पुनःनिर्माण भएको गलत तथ्याङ्क छ । यो शीर्षकको विज्ञापन त्यस दिनका पत्रपत्रिकामा पनि छपाइएको थियो ।
यस सम्बन्धमा प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन । ज्ञवाली कार्यरत रहँदा उनको प्रेस संयोजकका रुपमा काम गरेका भुवन केसीले केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षणका क्रममा ल्याएको प्रतिवेदनका आधारमा सो विवरण राखिएको दाबी गरे ।






