सप्तरीका बाढी पीडितलाई तत्काल राहात वितरण गर्न एमालेको माग

काठमाडौं– नेकपा एमालेले असार १६ गते सप्तरी जिल्लाका विभिन्न स्थानमा भएको डुबान, कटान र त्यसबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहातको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । उसले बाढिपहिरोमा परि भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै हरेक बर्ष हुने डुवान र कटानका समस्या समाधान गर्न दीर्घकालिन सोचका साथ उपाय अपनाउन आग्रह गरेको छ ।
महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै बाढीमा परी सशस्त्र प्रहरीका हवलल्दार सुमन आचार्यको निधन भएको तथा करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएको उल्लेख गरेका छन् ।
शनिबार राति महुली खोलामा आएको बाढीका कारण त्रिकौलका १ सय ५० र तिरहुत गाउँपालिका–५, भेडियाका ७० घर, दुधैला खोलामा आएको बाढीले रुपनी गाउँपालिका–६, वीरेन्द्रनगर बजारका ६ घर, तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका ५० र सकरपुरका ५०, कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिकालगायतका क्षेत्रका सयौँ घर डुबानमा परेका थिए ।
साथै, दुई सयभन्दा बढी घरलाई खोलाले बगाएको छ । कुखुरा पालन फार्म, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, खानेपानी आयोजनालगायतका निर्माणाधीन अन्य संरचनाहरु पनि डुबानमा परेका छन् । खासगरी, तिलाठीमा पुरानो बाँध भत्किएको, नयाँ बाँध बनिनसकेको र बनेको बाँध पनि गुणस्तरीय नभएको जस्ता कारणले यति धेरै क्षति भएको छ । साथै, सप्तकोशी नगरपालिकाको बुचही गाउँमा त्रिजुगाको पानी थुनिएर क्षति पु¥याइरहेको छ । त्यसबाट स्थानीय बासिन्दालाई बचाउन बाँधको उचित व्यवस्था गर्न पनि एमालेले माग गरेको छ ।
त्यस्तै एमालेले प्राकृतिक प्रकोपका कारण सप्तरीका जनतामाथि आइपरेको संकटमा साथ दिनका लागि उनीहरुको उद्दार र राहतमा सक्दो परिचालन हुन पार्टी मातहतका कमिटी तथा नेता–कार्यकर्तालाई निर्देशित गरेको छ ।