काठमाडौं– व्यवस्थापिका संसदको आईतबार बोलाइएको बैठक एमालेकी सांसद महिन लिम्बुको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
एमालेको तर्फबाट धनकुटा जिल्लाबाट समानुपातिक सांसद बनेकी लिम्बुको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो । बैठक सुरु हुने बित्तिकै सभामुख ओनसरी घर्तीले लिम्बुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पेश गरेकी थिइन् । सोही प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।
शोक प्रस्ताव पारित गरेपछि संसद बैठक स्थगित गर्ने परम्परा रहि आएको छ । अर्वुद रोगबाट पीडित ६० वर्षीया सांसद लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गत शनिवार निधन भएको थियो । संसद बैठकमा स्वर्गीय लिम्बुको निधनमा एक मिनेट मौनधारणा समेत गरिएको थियो ।
सभामुख घर्तीले लिम्बुको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरिन् ।
बैठकमा आर्थिक वर्ष २०७४/७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसुचि तय गरिएको संसद सचिवालयले जनाएको छ ।






