काठमाडौं– बैशाख ३१ र असार १४ मा गरी दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा ८० वटा राजनीतिक दलहरु चुनावी प्रतिश्पर्धामा उपत्रिएपनि स्थानीय निर्वाचनमा जम्मा नौ वटा दल मात्रै निर्वाचित भएका छन् ।
निर्वाचन भएका विभिन्न ६७ जिल्लामार्फत निर्वाचनमा सहभागि दलमध्ये जम्मा नौ वटा राजनीतिक दलमात्रै निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर, यति धेरै राजनीतिक दलहरु चुनावी प्रतिश्पर्धामा उत्रिएपनि निर्वाचनको कसिमा भने सहभागि दलमध्ये अत्यन्त न्युन दलमात्र उर्तिण हुन सफल भएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका ८० दलमध्ये नौ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै स्थानीय तहको प्रमुख पद जितेर जनतामाझ आफ्नो उपस्थिति जनाएका छन् ।
बाँकी ७१ वटा राजनीतिक दल चुनावी प्रतिश्पर्धामा सहभागि भएपनि उनिहरुले कँहि कतै आफ्नो उपस्थिति जनाउँन सकेनन् । संसदमा प्रतिनिधित्व गरिरहेका धेरै दलले समेत स्थानीय निर्वाचनमा एउटै पद पनि जित्न नसक्दा खुम्चेर बस्न बाध्य बनेका छन् ।
अहिले संसदमा प्रतिनिधित्व गर्ने २६ वटा राजनीतिक पार्टी छन् । तिमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा, तमालोपा, लोकतान्त्रिक फोरम, संघीय समाजबादी पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी नेकपा माले, तराई मधेस सद्भावना पार्टी,थरुहट तराई पार्टी , राष्ट्रिय जनमोर्चा, नेमकिपा,नेपाल कम्युनिष्ट पार्टी संयुक्त, संघीय सद्भावना पार्टी, सद्भावना पार्टी , समाजवादी जनता पार्टी, दलित जनजाती पार्टी, नेपाल परिवार दल, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाः राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)मध्ये नौ वटा दलमात्र स्थानीय निर्वाचनमा निर्वाचित भएका छन् ।
अहिलेसम्मको परिणाममा नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम(नयाँ शक्ति), नेकपा माले,फोरम लोकतान्त्रिक , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्र स्थानीय तहको प्रमुख पदमा आफ्नो उपस्थिति देखाएका हुन् ।
बिहीबारसम्मको परिणाममा एमाले (२७६)पहिलो, कांग्रेस (२२२)दोस्रो र माओवादीले (८३)तेस्रो स्थान जितेका छन् भने फोरम नयाँ शक्ति (८)चौथो फोरम लोकतान्त्रिक (६)पाचौ दलका रुपमा आएका छन् । संसदमा चौथो ठुलो दल बनेको राप्रपाले जम्मा ५ स्थानीय तहमात्र जितेर छैटौ दलको स्थान बनाएपनि चौथो दलको साख भने गुमाएको छ ।
स्थानीय निर्वाचनमा सहभागि बनेका लिम्बुवान मञ्च,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय गठबन्धन, खुम्बुवान राष्ट्रिय मोर्चा, लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टीले स्थानीय तहको प्रमुखमा एक स्थान पनि हासिल गर्न सकेनन् । कतिपय यस्ता पार्टीले धेरै स्थानमा जमानत समेत जोगाउन नसकेको पाइएको छ ।
यता, स्थानीय चुनावको केही महिनाअघि मात्र चर्चामा आएको विकेकशील नेपाल र साझा पार्टी पनि पहिलो स्थानीय तहको चुनावमा केही स्थानमा प्रतिष्पर्धी देखिएपनि दोस्रो पटकको निर्वाचनमा उनिहरुको नामोनिसान देखिएन । तर, यसअघि नै सरकार र संसदमा प्रतिनिध्त्व गरेका चुरेभावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), नेपाल दलित पार्टी, अखण्ड नेपाल पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल परिवार दल, जनजागरण पार्टी नेपाल र नेकपा संयुक्त जस्ता दलहरुले पनि यो स्थानीय निर्वाचनमा कुनै एक स्थानीय तहको प्रमुख वा उपप्रमुख पद आफ्नो बनाउन नसक्दा पुर्ववत हैसियत समेत गुमाएका छन् ।
७५ जिल्लाका सात प्रदेशमध्ये पहिलो चरणमा २८३ र दोस्रो चरणमा ३३४ स्थानीय तहमा स्थानीय निर्वाचन सम्पन्न भएर परिणाम आउने क्रम समेत अन्तिम अवस्थामा पुगेको छ । २ नम्बर प्रदेशका ८ जिल्लामा भने आगामी असोज २ गतेमात्र स्थानीय चुनाव हुदैछ ।






