आईएसको हमलाको बदला लिन पेरिसमा मुस्लिम धर्मावलम्बीमाथि आक्रमण

पेरिस – पेरिसमा रहेको एउटा मस्जिद बाहिर रहेको भीडमाथि गाडी कुदाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय समय अनुसार बिहिबार साँझ ६:३० बजे यो घटना क्रेटियल क्षेत्रमा भएको हो । घटनामा कोही पनि घाइते वा हताहत भने भएनन् ।

प्रहरीका अनुसार मस्जिदलाई जोगाउन राखिएको ब्यारियरको कारण ती व्यक्तिको योजना विफल भएको थियो ।

पक्राउ परेका व्यक्तिको उद्देश्य प्रष्ट नभएपनि ले पेरिसियन पत्रिकाका अनुसार उनी अर्मेनियन मूलको भएको र पेरिसमा भएका इस्लामी चरमपन्थीको हमलाको बदला लिन चाहन्थे ।

युरोपमा पछिल्लो पटक सवारीसाधन प्रयोग गरेर आतंकवादी हमलाहरु धेरै भइरहेका छन्, जसमध्ये धेरैको जिम्मा आइएसले लिने गरेको छ ।

प्रहरीका अनुसार पेरिसको दक्षिण–पूवी क्षेत्रमा भएको घटना असफल भएपछि भाग्न खोजेका ती व्यक्तिलाई लगत्तै पक्राउ गरिएको थियो ।

ले पेरिसियनका अनुसार उनी बाटाक्लान थिएटर र च्याप्पस एलिसिसमा इस्लामिक स्टेटले घटाएको घटनाको बदला लिन चाहन्थे ।