संविधानसभा भवनको प्रवेशद्वार खुल्यो

व्यवस्थापिका–संसद् सचिवालयले आन्दोलनरत कर्मचारीको माग तीन दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि दिउसो २.४५ बजेदेखि संविधानसभा भवनको सबै प्रवेशद्वार खुलेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सम्मेलन केन्द्रको सबै प्रवेशद्वार आन्दोलनरत कर्मचारीले बन्द गरेका कारण प्रभावित भएको थियो ।
आन्दोलनरत नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष छलरामप्रसाद पौडेलले संसद् सचिवालयले तीन दिनभित्र कर्मचारीको जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका कारण आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिनुभयो ।
कर्मचारीको आन्दोलनका कारण संविधानसभा भवन बन्द भएको यो पहिलो घटना हो । कर्मचारीको आन्दोलनका कारण बैठकमा सहभागी हुन आउनुभएका केही सभासद्हरु फर्कनुभएको थियो भने केही सभासद् सम्मेलन केन्द्रको परिसरमा घाम तापेर बस्नुभएको थियो ।
कर्मचारीको माग सम्बोधन गर्ने विषयमा सभामुख सुवास नेम्वाङले समेत चासो देखाउनुभएको थियो । कर्मचारीले सचिवालयका कर्मचारीसरह सेवा सुविधाको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।