बैठक तयारीबारे काँग्रेस–एमालेबीच छलफल

संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) सम्मिलित कार्यदलले आज शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सो समितिको कार्यविधि, आफ्ना पार्टीगत तयारीलगायत विषयमा कुराकानी भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले सञ्चारकर्मीलाई बताउनुभयो । दुई दलले सो समितिका कार्य अघि बढाउने सम्बन्धमा काँग्रेसबाट पूर्णबहादुर खड्का र रमेश लेखक तथा एमालेबाट भीमबहादुर रावल र अग्नि खरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।
यही माघ ११ गते एकीकृत नेकपा(माओवादी) नेतृत्वको मोर्चाका सभासद्को विरोधका बीच संविधानसभाले संविधानका विवादित अन्तर्वस्तुमा प्रश्नावली तय गर्न सो प्रश्नावली समिति गठन गरेको थियो । समितिको पहिलो बैठक आजै अपराह्न १ बजे बस्दैछ । समितिमा एमाओवादी र मधेसकेन्द्रित दलले सहमतिमा संविधान बन्नुपर्ने माग गर्दै आफ्ना नामावली दिएका छैनन् ।
एमाले उपाध्यक्ष भण्डारीले नामावली प्राप्त नभए पनि नेपालको अन्तरिम संविधान, २०६३ को मर्मबमोजिम समितिका कार्य अघि बढ्ने र सहमतिको प्रक्रिया पनि निरन्तर जारी रहने बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।