तक्दीर अधिकारी/अनु तामाङ
सिड्नी । सिड्नीको मिन्टोमा एउटा शिव मन्दिर छ । हरि तालिका तीजमा ब्रत बसेका नेपाली महिलाहरु त्यही मन्दिरमा शिव दर्शन गर्न प्रत्येक वर्ष जान्छन् । मिन्टो रेल स्टेशनदेखि मन्दिरसम्म पुग्नका लागि विभिन्न सामाजिक संघसंस्थाले निःशुल्क यातायात सुविधा उपलब्ध गराएका थिए । संधैं झै आज सोमबार पनि मन्दिरको ढोका १० बजे खुल्यो ।

मन्दिरको ढोका खुलेसँगै रातो पहिरनमा सजिएका नेपाली महिलाहरु मन्दिर वरिपरी जमघट हुन थाल्यो । उनीहरुलाई मनोरञ्जन गराउनका लागि मन्दिरले साउन्डसिस्टमको व्यवस्था गरेको थियो । केही समय ब्रत बसेका नेपाली महिलाहरु नाँच गाउँन थाले । केही क्षणमै रमाइलो महोल सिर्जना भयो ।
मन्दिरको हलभित्र जम्मा भएका नेपाली महिलाहरु मनोरञ्जनका लागि नाँच गान गर्न थाल्छन्, त्यसपछि पुजारी महिला म्युजिक सिस्टम बन्द गर्दिछिन् । हलभित्र रहेका सबैलाई बाहिर जान अनुरोध गर्छिन् । पुजारीको भनाइ थियो, अरुलाई पनि पालो दिनुपर्ने र कार पार्क भरिएकाले भएकाले तपाईंहरु बाहिर गइदिनुस् । समूहमा नाँच्न रुचाउने नेपाली महिलाहरुलाई पुजारीको यो भनाइले खिन्न बनाइदियो ।

लन्डन नेपाल न्युजका लागि तीज उत्सवको लाइभ प्रशारण गर्न पुगेकी अनु तामाङसँग शिवको दर्शन गर्न आएकी रुपा चापागाइँले भनिन्, ‘नाँच्न सुरु गरेको मात्रै थिएँ म्युजिक सिस्टम बन्द भयो । पुजारीले हल छोड्न भनिन् । एक घण्टा टाढा बाट तीज मा मजाले नाचेर रमाइलो गर्न आएका थियौं, खल्ला भयो ।’ उनले भनिन्, ‘हाम्रो पनि आफ्नै मन्दिर भए, यसरी अपमानित भएर मन्दिरबाट निस्कनु पर्दैन थियो । मन्दिर सबैको साझा हुन्छ, तर यो व्यक्तिगत जस्तो भयो ।’
जब हल भरिन्छ, तब मन्दिरको पुजारीले म्युजिक सिस्टम बन्द गर्दथिइन् । हल लगभग खाली नभएसम्म म्युजिक सिस्टम खुल्दैन थियो । मन्दिरका दर्शन गर्न आएका धेरै महिलाहरु पुजारीको यस्तो व्यवहारले दुःखी देखिन्थे । शिवको दर्शन गर्न मन्दिर पुगेकी सन्चीता कार्कीले भनिन्, ‘सबै नेपाली भेला भएर रमाइलो गर्नुपर्ने हो, तर त्यसरी रमाइलो गर्न पाइएन ।’
शिव दर्शनका लागि मन्दिर पुगेका अधिकांश महिलाले खल्लो महसुस गरे । हलभित्र प्रवेश गरेसँगै म्युजिक सिस्टम बन्द गर्दिदिँदा उनीहरुले खल्लो महसुस गरेका हुन् । धेरैजसो महिलाहरु मन्दिर परिसर घुमेर फर्केका थिए ।

कार्यक्रमलाई व्यवस्थित गर्न धेरै सामाजिक संघसंस्था खटिएका थिए । एनआरएनए अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषद् र मल्टी डाइमिक रियलस्टेटले चिया र पानीको व्यवस्था गरेको थियो ।







