काठमाडौं– दोस्रो चरणको स्थानीय तहको चुनावमा मतगणनाको पहिलो दिन तीनवटै पार्टीलाई एक–एक सिट हात परेको छ । ताजा अवस्थामा अग्रता भने एमालेको रहेको छ ।
काङग्रेसले बझाङबाट गाउँपालिकाको खाता खोलेको छ ।
जिल्लाको दुर्गम काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काङग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र बहादुर धामी ३ सय ८४ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानविर बोहराले ३ सय ३६ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा पनि नेकपा एमालेकी डोल्मा तामाङलाई हराउँदै काङग्रेसकी कल्पना बोहरा विजयी भएकी छन् । बोहराले पनि ३ सय ९४ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी तामाङले ३ सय २६ मत प्राप्त गरेकी छन् ।
एमालेले पनि बझाङबाट जीत सुरुवात गरेको छ । मष्टा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कर्ण कठायत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरालाई पराजित गरेका हुन् ।
मष्टाको उपाध्यक्षमा पनि एमालेकै भगवती बोहरा विजयी भइन् । उनले नेपाली कांग्रेसकी देवी सेट्ठीलाई पराजित गरेकी छन् ।
माओवादीले भने प्रदेश नम्बर १ बाट विजय सुरु गरेको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका माओवादी केन्द्र विजयी भएको हो । माओवादी केन्द्रका उम्मेद्वार डम्बरबहादुर बस्नेत १ हजार १ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका रामबहादुर बस्नेतले ७ सय ६० मत प्राप्त गरे ।
गाउँपालिका उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार शर्मिला बस्नेत विजयी भएकी छन् । उनले १ हजार ४२ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै मिना बस्नेतले ८ सय २८ मत प्राप्त गरिन् ।






