एमालेले ५६ प्रतिशत जित्ने माधव नेपालको दाबी

धनगढी– नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधिक मत दिएर पहिलो पार्टी बनाउने दाबी गरे ।
संसारका कुनैपनि निर्वाचनहरु एउटै मितिमा हुने गरेको प्रष्ट पार्दै नेता नेपालले भने –नेपालमा यो वा त्यो बहानामा मिति सार्नु गलत थियो । जनता प्रष्ट भइसकेका छन् देशभक्तिको भावना र राष्ट्रियताप्रति जवाफदेहिता नभएका पार्टीलाई अब जनता भोट दिदैनन् । उनीहरुले चुनावमा जित्छु भन्ने हेक्का नराख्दा हुन्छ ।

‘नेकपा एमाले कटिवद्ध भएर नउभिएको भए अहिलेसम्म सरकारमा रहेका पार्टीले संविधान शंसोधन गरी एक मधेश एक प्रदेश स्थापना गरी देशको राष्ट्रियता धरापमा पारिसक्थे’ नेता नेपालले थपे ।

उनले मधेशका जायज मागमा नेकपा एमाले कटिबद्ध भएर लागेको समेत उल्लेख गरे ।