लन्डन- नेपाली चलचित्र ‘जंगे’ लन्डन आइपुगेको छ ।
जंगे बेलायतका विभिन्न सहरमा प्रदर्शन गर्ने तयारी छ । गैंडा इन्टरटेनमेन्ट यूकेले शो गर्न लागेको उक्त फिल्म २८ मे शनिवार साँझ लन्डन ह्यारो र ५ जुन दिउँसो अल्डरसटमा प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन् ।
वैशाख १७ देखि काठमाडौंमा प्रदर्शन भएको जंगे उत्कल थापाको निर्देशनमा तयार भएको हो । यो चलचित्रलाई आइडियाज एण्ड इमेजेजको ब्यानरमा सुशन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका छन् ।
वीरगञ्जका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नायक सुरज सिंह ठकुरी शिर्ष भूमिकामा देखिएका छन् । सुवास कोइरालाको पटकथा तथा संवाद रहेको चलचित्रमा सुसन प्रजापतिकै छायांकन, उज्वल ढकालको सम्पादन छ ।
चलचित्रमा ऋचा शर्मा, शिखा शाही पनि मुख्य भूमिकामा छन् ।






