प्रधानमन्त्री बालुवाटार सरे

Photo: THT

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका देउवा बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले सोमबार बिहान ५:२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सर्नुभएको हो । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएका थिए ।

बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो । रासस