लण्डन । बेलायतमा संखुवासभाका गुरुङ समुदायले आफ्नो पर्व तमु ल्होसार एबं आफ्नो १० औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । संखुवासभा तमु समाज बेलायतले नेपालीहरुको राष्ट्रिय पर्व तथा तमुहरुको मौलिक पर्व तमु ल्होसार कार्यक्रम आफ्नो समुदायको तमु पोशाक तथा भेष-भुषामा भब्यताका साथ मनाएको हो ।

गत शनिबार लण्डनको फेल्थाम कम्युनिटी कलेजमा संखुवासभा तमु समाज बेलायतका कार्यवाहक अध्यक्ष विरेन गुरुङ ,संखुवासभा समाज बेलायतका अध्यक्ष नैनाशिंक गुरुङ र संखुवासभा तमु समाज बेलायतका निवर्तमान अध्यक्ष गोकर्ण गुरुङले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष बिरेन गुरुङले उपस्थित सबैमा ल्होसार तथा १० औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरे । संस्थाका महासचिव सल बहादुर गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गर्दैै वार्षिकोत्सवबारे जानकारी गराए ।
एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सका उपाध्यक्ष तथा नेपाली समाज वेल्सका अध्यक्ष अमृत घलेले तमु समाज बेलायतले दशक उत्सव मनाएकोमा खुसि व्यक्त गरे।संखुवासभा तमु समाज बेलायतका महिला विभाग संयोजक तथा संस्थाकी उपाध्यक्ष सरिता घलेले उपस्थित सबैमा ल्होसारको शुभकामना दिंदैै औपचारिक कार्यक्रम समापन मारिन् ।
कार्यक्रममा अतिथिहरु नारायण श्रेष्ठ, अमृत घले , सल्लाहकार गोकर्ण गुरुङ, भीमबहादुर गुरुङ, भोलामान गुरुङ, अमृत गुरुङ, सुरेश गुरुङ, पदम गुरुङसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहित ३ सय बढि संखुवासभाली तमुहरु भेला भएका थिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत डिजे बाबुराम गुरुङले विभिन्न संगीत प्रस्तुत गरेर कार्यक्रमका सहभागीहरुलाइ नचाएका थिए ।






