चुनावमा टिकटको लागि विवाद नगर्न कांग्रेस नेता सिंहको आग्रह

‘टिकट नपाउनेलाई उचित जिम्मेवारी दिइन्छ’

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले निर्वाचनका बेला टिकटको लागि विवाद नगर्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टीले जसलाई टिकट दिन्छ उसैलाई विजयी गराउने भूमिका खेल्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

स्थानीय चुनावमा टिकट दाबी गर्नेहरुको संख्या बढेर उम्मेदवार चयनमा कठिन भइरहेको बेला नेता सिंहले विश्वासिलो व्यक्तिले टिकट पाउने र जसले टिकट पाउँछ उसलाई सबै मिलेर जिताउनुपर्ने स्पष्ट पारेका हुन् ।

काठमाडौंमा शनिबार बिहान आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘टिकटका लागि धेरै साथीहरूको आकांक्षा हुन्छ तर ‘सबैलाई टिकट दिन सकिँदैन । पार्टीले विश्वास गरेको व्यक्तिलाई जिताउने दायित्व तपाई हाम्रो सबैको हो ।’

चुनावमा टिकट नपाएकाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणको काम भइरहेको बताएका नेता सिंहले भने, ‘हामी छलफलमा छौँ । बिहानैदेखि बैठक बसेको छ । जित्ने नेतालाई टिकट दिनुपर्ने दायित्व हामीमा छ ।’

तर सबै नेता कार्यकर्ताहरुको उचित ब्यवस्थापन गर्नू पार्टीको जिम्मेवारी भएकाले सबैलाई उचित मूल्यांकन गरेर आवश्यक जिम्मेवारी दिइने नेता सिंहले बताए ।

उनले पहिलो चरणको चुनावमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरू सबैलाई धन्यवाद पनि दिए ।