एनआरएनए अमेरिकाको लफडापछि उपाध्यक्ष लामाले गरे महासचिव शर्माको चर्काे आलोचना

जीएनएन
काठमाडौं । नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा महाधिवेशनको मिति नजिकिदै जाँदा विवादहरु पनि बल्झिदै गएको छ । राष्ट्रिय समन्वय परिषद्हरु (एनसीसी) मा अधिवेशन चलिरहँदा सदस्यता र नयाँ महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन लगायतका विषयमा विवाद बढेको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषदका केही पदाधिकारीहरुले एनसीसीका अधिवेशनहरुमा अनावश्यक हस्तक्षेप गरेको भन्दै आइसीसीकै पदाधिकारीहरुले महासचिव शर्माको चर्को आलोचना गरेका छन् । तर महासचिव शर्माले भने यो सामान्य छलफल भएको जनाएका छन्।

आगामी अक्टोबरमा हुने संघको १०औं महाधिवेशनको तयारी स्वरुप बिहीबार साँझ आयोजित पदाधिकारी (अफिस बेयरर्स) हरुको बैठक विवादकै कारण कुनै निष्कर्षमा पुग्न सकेन । बैठकका लागि १७ वटा अजेण्डा तय गरिएको भएपनि शुरुमै पदाधिकारीहरुबीच नै भनाभन भएपछि बैठक ठोस प्रस्तावमा प्रवेश नै गर्न सकेन ।

बैठक शुरु भए लगत्तै महासचिव हेमराज शर्माले बैठकका प्रस्तावहरु पेश गरेका थिए । त्यस अगावै सचिवालयले बैठकका सहभागी सबै पदाधिकारीहरुलाई इमेल मार्फत लिखित रुपमै प्रस्ताव उपलब्ध गराइसकेको थियो ।

सोही अनुसार महासचिव शर्माले आसन्न दशौं महाधिवेशनको तयारी र जारी एनसीसीहरुको अधिवेशनका विषयलाई समेटेर सांगठनिक प्रतिवेदन पेश गर्न थालेपछि विवाद उत्पन्न भएको हो । विवादकै कारण बैठक अन्य प्रस्तावमा अगाडि बढ्नै सकेन र विना निष्कर्ष टुंगियो ।

बैठकमा महासचिव शर्माले अमेरिकाको एनसीसी अधिवेशनमा विधानको पालना नभएको बताएपछि अमेरिकाबाट आइसीसीमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष सोनाम लामाले प्रतिवाद गरेका थिए ।

एनसीसी अमेरिकाको निर्वाचन एक महिना अगावै सम्पन्न भएपनि गत साता मात्रै साधारणसभाको आयोजना गरी नवनिर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरण गरिएको थियो । नयाँ कार्य समितिलाई सपथ गराउने क्रममा कार्यक्रममै विवाद उत्पन्न भएको थियो ।

सोही प्रसंग महासचिव शर्माले आइसीसी पदाधिकारी बैठकमा पनि कोट्याएपछि उपाध्यक्ष सोनाम लामाले अमेरिकाको वास्तविक घटनाबारे जानकारी गराउने क्रममा महासचिव शर्मा र उपाध्यक्ष लामाबीच निकै बेर भनाभन नै चल्यो ।

उपाध्यक्ष लामाले ‘महासचिव शर्माकै कारण संगठन बिग्रिएको’ भन्दै एनसीसीहरुमा गरिएको हस्तक्षेप तत्काल बन्द गर्न चेतावनी दिएका थिए । ‘महासचिवज्यू, तपाईंकै कारण एनसीसीहरु पीडित भएका छन्, संगठन बिग्रिएको छ, यसरी संगठन बिग्रिनुमा तपाईंले जिम्मेवारी लिँदै एनसीसीहरुमा गरेको हस्तक्षेप तत्काल बन्द गर्नुस्,’ बैठकमा उपाध्यक्ष लामाले भनेका थिए ।

उपाध्यक्ष लामाले एनसीसीहरुले समाधान गर्ने विषयमा महासचिवले हस्तक्षेप गर्ने र त्यसलाई अर्का उपाध्यक्ष डा बद्रि केसी र अध्यक्ष कुमार पन्तले पनि साथ दिने गरेकाले संसारभरको संगठनमा नराम्रो असर परेको भन्दै संस्थाको विधान र गरिमा अनुसार अगाडि बढ्न सुझाव दिएका थिए ।

‘सौहाद्रपूर्ण रुपमा निर्वाचन भएको अमेरिकामा महासचिवकै कारण विवाद उत्पन्न भएको छ, महासचिव बस्ने देश बेलायतमै विवाद बढेको छ’ बैठकमा लामाले भने, ‘यी सबै विवादको जड महासचिव हो र महासचिवले जिम्मेवारी लिँदै विवाद समाधान गर्नुस्।’

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार महासचिव शर्माले उपाध्यक्ष लामाले लगाएको आरोपमा सत्यता नरहेको भन्दै फिर्ता लिन माग गरेका थिए । तर, उपाध्यक्ष लामाले आफूले भनेका कुरा आरोप नभई यथार्थ भएकाले फिर्ता नलिने स्पष्ट पारे । सोही क्रममा महासचिव शर्मा र उपाध्यक्ष लामाबीच निकै बेर भनाभन नै चल्यो ।

उपाध्यक्ष लामाले अर्का उपाध्यक्ष बद्रि केसी अमेरिका पुगेर महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनका विषयमा भड्काउने खालको अभिव्यक्ति दिएर थप समस्या निम्त्याएको समेत बताए ।

‘अमेरिकामा लामो समयपछि विवादरहित रुपमा निर्वाचन भएको थियो । पदाधिकारीहरु नै अमेरिका पुगेर नयाँ विवाद झिक्ने काम भयो, यसको जिम्मेवारी कसले लिने ?’ लामाले प्रश्न गरे ।

उपाध्यक्ष लामाले आइसीसीले संशोधन गरेको विधान सरकारले प्रमाणीकरण नगर्दै अमेरिकाको निर्वाचन भएको र प्रमाणीकरण नहुँदैको विधान वाध्यकारी नहुने बताएका थिए । हस्तक्षेपबाट पीडित अमेरिकाका प्रतिनिधिहरुले नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको र त्यसबाट आउनसक्ने अवस्थाको जिम्मेवारी पनि महासचिवले नै लिनुपर्ने चेतावनी पनि उनले दिए ।

आफूमाथि गम्भीर आरोप लागेको भन्दै महासचिव शर्माले पटक पटक फिर्ता लिन उपाध्यक्ष लामालाई आग्रह गरेपनि उनले फिर्ता लिएनन् । आरोप फिर्ता नभए बैठक अगाडि नबढ्ने अडान शर्माले लिएका थिए । तर, अन्य पदाधिकारीहरुले क्षेत्रगत रुपमा देखिएका समस्यामाथि छलफल हुनुपर्ने बताएपछि यूरोप र मध्यपूर्व क्षेत्रमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।

मध्यपूर्वमा पनि उस्तै

मध्यपूर्वका संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले एनसीसीहरुमा सन्चालन गरिएको ‘मेम्बरशिप ड्राइभ’मा पनि महासचिवले अनावश्यक हस्तक्षेप गरेको र क्षेत्रीय पदाधिकारीहरुलाई भूमिकाविहीन बनाइएको गुनासो गरेका थिए ।

सदस्यता आवेदनका लागि एमआईएस सिस्टम लागू गरिएपनि मध्यपूर्वमा सदस्यता आवेदकको तस्वीरको नाममा ‘सेल्फी’ अनिवार्य गरेर झण्झटिलो प्रक्रिया अवलम्बन गरेर दु:ख दिने काम गरिएको गोरखालीले बताए ।

बैठकमा गोरखालीले आफ्नै सदस्यता आवेदन चौथो पटकमा मात्रै सफल भएको भन्दै केही पदाधिकारीहरुले अनावश्यक हस्तक्षेप गर्दै नयाँ नयाँ प्रावधान राख्दा समस्या भएको बताएका थिए ।

“पन्ध्र, सोह्र हजार सदस्य बन्ने दुबईमा अहिले उन्नाइस सय भन्दा कम सदस्यता आवेदन परेको छ, यो संस्था बलियो भएको हो कि, दुब्लाएको हो ?” बैठकमा गोरखालीले प्रश्न गरेका थिए । उनले बहराइनमा सदस्यता आवेदन नमिलेकैले एक पदाधिकारीलाई निलम्बन गरिएकोसमेत जानकारी गराए । हरेक विषयमा महासचिवले हस्तक्षेप गर्ने गरेको र आफू पक्षीय केही पदाधिकारीहरुको सुझावका आधारमा एमआईएस बन्द गर्ने र खोल्ने गरिएको पनि उनले बताए ।

बैठकमा सहभागी क्षेत्रीय संयोजकहरुले सम्बन्धित क्षेत्र भित्रका एनसीसीहरुलाई गरिने निर्देशन र सहजीकरणका बारेमा अध्यक्ष र महासचिवले नै चासो राख्ने र क्षेत्रीय पदाधिकारीहरुलाई बेवास्ता गर्ने गरिएको बताएका थिए । ‘क्षेत्रीय संयोजक, उपसंयोजकहरुलाई किन भूमिकाविहीन बनाइयो ?’ मध्यपूर्वका संयोजक प्रवीण गुरुङले प्रश्न गरे? सदस्यता आवेदन, एनसीसीहरुको अधिवेशन लगायतका विषयमा केही पदाधिकारीहरुले गरेको हस्तक्षेपका विषयमा सहभागीहरुले अध्यक्ष कुमार पन्तसंग पनि जवाफ मागेका थिए ।

पन्तको रहस्यपूर्ण अनभिज्ञता

बैठकमा अध्यक्ष कुमार पन्तले भने एनसीसीहरुमा पदाधिकारीहरुले हस्तक्षेप गरेको र सदस्यता आवेदनमा देखिएको समस्याका बारेमा आफूँलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए ।

‘सदस्यता आफ्नैै सिस्टममा चलेको छ भन्ने मलाई लागेको छ, कुनै पदाधिकारीहरुले हस्तक्षेप गरेको भन्ने मलाई जानकारी छैन’ बैठकमा अध्यक्ष पन्तले भनेका थिए ।

‘संगठनको अध्यक्षलाई नै थाहा नहुने गरी कुनै पदाधिकारीले हस्तक्षेप गरेको छ भने त्यसमा चनाखो हुनुपर्यो’ पन्तले बोल्दै गर्दा सहभागी पदाधिकारीहरुले भनेका थिए ।

पन्तले आफूलाई जानकारी नभएको बताएपछि असन्तुष्ट पदाधिकारीहरुले त्यसभित्र पनि रहस्य हुनसक्ने भन्दै चनाखो हुनुपर्ने अवस्था आएको बताएका थिए ।

बैठकका लागि तय गरिएका १७ वटा प्रस्तावमध्ये अधिकांश प्रस्तावमा छलफल नै हुन नसकेपछि अब ती सबै प्रस्तावलाई आइसीसीको पूर्ण बैठकमा लैजाने तयारी गरिएको छ ।

यो पनिः एनआएएनए अमेरिकाको साधारणसभामा मुठभेडको स्थिती कसरी सिर्जना भयो ?