काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ ।
आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनु भएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।”
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मानक तयार पारेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन हुँदैन कि वा मुलुक अगाडि बढ्दैन कि भन्ने आशङ्का र चुनौतीकाबीचबाट आफ्नो नेतृत्वको सरकारले सहजै रुपमा मुलुकलाई नयाँ दिशामा अगाडि बढाइएको बताउँदै “अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकी मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ भन्नुभयो ।”






