लण्डन । शेर्पा संघ बेलायतले ग्याल्पो ल्होसार मनाएको छ । बेलायतमा बसोबास गर्ने शेर्पा समुदायले आफ्नो राष्ट्रिय पर्व तथा नयाँ २१५३ औं राष्ट्रिय ग्याल्पो ल्होसार विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको हो ।
शेर्पा संघ बेलायतको आयोजनामा २८ फेब्रुअरी शनिबार लण्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा भएको विशेष समारोहमा ल्होसार मनाउन बेलायतका विभिन्न सहरहरूबाट सयौँको संख्यामा शेर्पा समुदायहरू आफ्नो मौलिक भेषभूषा र मौलिक पहिरन र गरगहनामा सजिएर शेर्पाहरुको सुन्दर कला-संस्कृति झल्किर सहभागी भएका थिए ।
प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी संघका अध्यक्ष विशेष अतिथिले संयुक्त रूपमा पानसमा दियो बालेर औपचारिक कार्यक्रम सुरु गरेका थिए ।
संघका अध्यक्ष रिन्जी लामा शेर्पाको अध्यक्षमा भएको सो कार्यक्रमको संचालन महासचिव नोर्बु शेर्पाले गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष नुरी शेर्पाले गरेका थिए । वाङचु शेर्पा र आङ लाक्पा शेर्पाको स्वागत गीत बाट सुरु भएको कार्यक्रममा दुवै देशका राष्ट्रिय गित बजेका थिए।
कार्यक्रममा नेपालको सोलु सेर्लो गुम्बा बाट आउनु भएका लामा गुरु नबंङ्ग कुनसाङ शेर्पाले ल्होसारको आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्दै ग्रहदशा शान्तिको कामना गरे ।यसैगरी कार्यक्रमा बीसीसी यूके गुम्बाका अध्यक्ष आङदाबा शेर्पा,युवा व्यवसायी छोङ नोर्बु शेर्पा,डि एस शेर्पा लगायतले प्रवासमा नेपाली कला संस्कृति र सम्पदाको संरक्षण तथा सम्वर्धन गर्न शेर्पा संघ यूकेले गरिरहेको प्रयासको प्रशंसा गरेका थिए।
कार्यक्रममा धर्म गुरुहरुबाट प्रवचन र संस्थलाई महत्वपूर्ण सहयोग गर्ने दाताहरूलाई प्रमुख अतिथि र संस्थाका अध्यक्षले प्रसंशापत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, भाषा र संस्कृतिलाई जीवन्त राख्नु गौरवको विषय भएको बताए । उनले नेपाली संस्कृति नै विदेशमा नेपालीको असली पहिचान भएको उल्लेख गर्दै नयाँ पुस्तालाई जोड दिए ।
कार्यक्रम संयोजक निम्मा शेर्पाले शेर्पा समुदायको परम्परा र संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले ल्होसार केवल चाड मात्र नभई पारिवारिक र सामुदायिक भेटघाटका साथै एकताको प्रतीक भएको उल्लेख गर्दै शेर्पाले सहयोग गर्ने प्रायोजक, कलाकार, स्वयंसेवक, मिडिया लगायतलाई धन्यवाद पनि दिए । 
संघका अध्यक्ष रिन्जी शेर्पा लामाले मातृभाषा र मौलिकता जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउँदै बेलायतमा रहेका शेर्पा समुदायलाई गोलबन्द गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा महासचिव नोर्बु शेर्पाले हिमाली भूभागमा बस्ने शेर्पा जातीको धर्म, संस्कृति, परम्परा र चाडपर्व बेलायतमा समेत संरक्षण गर्न लाप्सो पूजासहित ल्होसार मनाइएको जनाए ।
कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू आमन्त्रित थिए ।

औपचारिक कार्यक्रमपछि जस्मिन शेर्पाले संचालन गरेको सांस्कृतिक सत्रमा स्थानीय कलाकारहरू तथा स-साना बालबालिकाहरूले स्याब्रु, टुङ्ना र विभिन्न आधुनिक नाचहरू प्रस्तुत गरेका थिए । ल्होसार महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउनको लागि राफल ड्र समेत समावेश गरिएको थियो।अन्त्यमा सहभागीहरु डिजेको गीतसंगीतमा अबेरसम्म नाचेर रमाए ।संघले सन् २००३ मा स्थापित शेर्पा संघ बेलायतले निरन्तर रूपमा ल्होसार मनाउँदै आएको छ ।






