माओवादीले टुंगो लगायो तीन मन्त्रीको नाम, महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

काठमाडौं– नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रका नेता मणि थापाले महराको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्नेछन् । यस्तै जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नेछन् भने प्रभू शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् ।

नाम टुंगो लगाइएका मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिनेछन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ २ बजेको लागि तय भएको र सो लगत्तै अरु मन्त्रीहरुको सपथ हुनेछ ।