बङ्गलादेशका प्रतिपक्षी नेता खालेदा जियाका छोराको शवको अन्त्येष्टिमा मङ्गलबार लाखौँ व्यक्तिले श्रद्धाञ्जलि व्यक्त गरेका छन् भने यसले सङ्घर्षरत पूर्व प्रधानमन्त्रीप्रति व्यापक समर्थन देखाएको छ । चवालीस वर्षीय अराफात रहमान कोकोको शनिबार मलेसियामा हृदयाघातबाट मृत्युभएको थियो । प्रतिपक्षी नेता जियाले यसै महिनादेखि उहाँका प्रतिद्वन्द्वी प्रधानमन्त्री सेख हसिनाको सरकार पतन गराउन नयाँ प्रदर्शन आरम्भ गर्नुभएको छ र पुत्रको मृत्युले उहाँलाई व्यापक क्षति पुगेको ठानिएको छ ।
प्रहरी निरीक्षक अलमगिरले करिब ५० देखि ६० हजार व्यक्तिले श्रद्धाञ्जलि दिएको अनुमान गर्नुभयो भने अर्का प्रहरीले उक्त सङ्ख्या करिब एक लाख भएको अनुमान गरे । कोकोको शरीर मङ्गलबार बिहान घर आइपुगेको हो भने उहाँलाई श्रद्धाञ्जलि दिन मस्जिदको वरपर भीड जम्मा भएकाले उक्त क्षेत्रमा यातायात सञ्चालन हुनसकेको थिएन ।
जियाको बङ्गलोदश नेसनालिस्ट पार्टी (बीएनपी) का एक समर्थक मोहम्मद नुरुजामानले जिया हाल आफ्नै कार्यालयमा नियन्त्रित हुनुभएको र कोकोका दाजु लन्डनमा प्रवासमा रहेकाले श्रद्धाञ्जलि व्यक्त गर्न आफू आएको बताए । कोको राजनीतिमा सक्रिय हुनुहुन्थेन । सन् २००८ मा सेनाले समर्थन गरेको सरकारले भ्रष्टाचारको आरोप लगाएपछि कोको थाइल्यान्ड तथा मलेसियामा प्रवासमा रहनुहुन्थ्यो ।
सन् २००४ देखि २००६ सम्म जिया सरकारमा रहेको समयमा सिङ्गापुरमा खाता सञ्चालन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा जुन २०११ मा उहाँलाई २५ लाख अमेरिकी डलर बराबर जरिवाना तथा छ वर्षको कारावासको सजायँ तोकिएको थियो । कोकोको देहावसान भए पनि बीएनपीले राष्ट्रव्यापी यातायात अवरोध गर्ने कार्यक्रम गर्ने दृढता देखाएको छ । जियाले प्रधानमन्त्री हसिनाको सरकार पतन गर्न आह्वान गर्नुभएको छ ।
यातायात अवरोध गराउने प्रयासले द्वन्द्व भएको छ भने कम्तीमा ३६ व्यक्तिको मृत्युभएको छ । गत वर्षको निर्वाचनलाई प्रतिपक्षी दलले बहिष्कार गरेको थियो भने प्रधानमन्त्री हसिनाले नयाँ निर्वाचन गराउनुपर्ने जियाले चाहनुभएको छ । प्रधानमन्त्री हसिनाले शनिबार जियाप्रति समवेदना प्रकट गर्नुभएको थियो ।
बङ्गलादेशका प्रतिपक्षी नेताका छोराको अन्त्येष्टिमा लाखौँको श्रद्धाञ्जलि






