बाराको कलैयामा साढे चार बर्षीय बालकको अपहरणपछि हत्या भएको छ । कलैया नगरपालिका–५ बस्ने मोतिलाल साहका छोरा आशिषको गएराती अपहरण पछि हत्या भएको हो । घरभन्दा करिब चार सय मिटर टाढा अचेत अवस्थामा फेला परेका बालकको टाउको र छातीमा चोट लागेको थियो ।
उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा उनको गएराती मृत्यु भएको हो । घटनाको प्रकृती हेर्दा हत्या भएको हुनसक्ने बाराका डिएसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आज सात जनालाई नियन्त्रणमा लिएको छ ।
गएराती राती घरमा सुतिरहेका बालक राति ८ बजेतिर हराएका थिए । घरमै रहेका अभिभावकहरुले बालक घरमा नभएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । त्यस लगत्तै खोजीमा निस्किएका प्रहरीले टांगा स्ट्याण्डमा बालक आशिषलाई फेला पारेका थिए । उता, स्थानीयले आज शान्ति सुरक्षाको माग गर्दै बाराको भरतचोकमा प्रदर्शन गरेका छन् ।
बारामा वालकको अपहरणपछि हत्या






