प्रशंसा फस्ट रनर अप, विभिया सेकेन्ड रनर अप
लन्डन– मिस यूके नेपाल– २०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् ।
पोखरा स्थायी घर भएकी भूपू ब्रिटिश गोर्खा सुपुत्री राना सन् २००६ यता यूकेमा छिन् । जितपछि उनले खुशी व्यक्त गर्दै आफ्नो सफलता पछाडि परिवार, आयोजक र कोरियोग्राफरको उल्लेख्य भूमिका रहेको बताइन् । ‘म यति उत्साहित छु, वर्णन गर्न पनि सक्दिन’, उनले खुशी सांटिन्, ‘अबको समय म च्यारिटीमा लगाउनेछु ।’ क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत उनले यस्तो ब्युटी प्याजेन्टबाट आफूमा आत्मविश्वास झन् बढेको र प्रतिभा प्रस्फुटन गर्ने अवसर समेत मिलेको बताइन् ।
इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन् प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत मिलेको छ । ओपनिङ सिक्वेन्समा आकर्षक नृत्यसहित प्रस्तुत भएका सुन्दरीहरुले सारीमा सजिएर आफ्नो परिचय दिएका थिए । उनीहरु कल्चरल ड्रेस र गाउनमा समेत प्रस्तुत भए ।
उक्त प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु कमल भण्डारी, नरेश खपांगीमगर, प्रसुना कंडेल, गौमाया गुरुङ, डा. प्रियम्बडा पौडेल, एकेन्द्र गुरुङ र राष्ट्र
राई थिए । पहिलो औपचारिक सत्रमा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका कार्यवहाक राजदूत शरदराज आरनले यस्ता प्रतियोगिताले प्रतियोगीमा रहेको प्रतिभा प्रस्फुटन हुने बताए । एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायतले पनि प्रतियोगीहरुलाई शुभकामना दिएका थिए ।
यसपटक प्रमुख प्रशिक्षक र कोरियोग्राफरको भूमिकामा थिइन् चर्चित नायिका प्रियंका कार्की । करिब दुई साताको आफ्नो प्रशिक्षणमा प्रतियोगीमा झण्डै दुईसय प्रतिशत निखार आएको प्रियंकाले बताइन् । ‘प्रतियोगिता निष्पक्ष र समग्रमा सफल भयो’, उनले भनिन्, ‘निर्णायकहरु पनि सम्वन्धित क्षेत्रका वीज्ञ भएका र मार्किङ क्राइटेरिया त्यही अनुरुप तोकिएकाले यो विल्कुल निष्पक्ष मान्नुपर्छ ।’ प्रियंकाले महिला सशक्तिकरणमा जोड दिंदै आफूमा इच्छा र प्रतिभा छ भने महिला सधैं रोल मोडलका रुपमा अग्रपंक्तिमा आउनुपर्ने धारणा समेत राखेकी थिइन् । ५ सय बढि दर्शकमाझ सम्पन्न कार्यक्रममा गायक धर्मेन्द्र सेवान, गायिका श्रेया सोताङ र आर के स्क्वायर ब्याण्डले गीत गाए भने कबड्डी कबड्डीकी नायिका रिस्मा गुरुङ, अनिता लिम्बु, सागर र काजोल, जीवन पुन लगायतले आकर्षक नृत्य देखाएका थिए । 
२० वर्षीया टेनिसा लन्डन मेट्रोपोलिटन युनिभर्सिटी यूकेमा मेडिसिनमा डिग्री गर्दैछिन् । पोखराकी टेनिसाको उचाई ५ दशमलव ६ इन्च रहेको छ । उनलाई अभिनेत्री प्रियंका कार्कीलगायतले ताज पहिरिएकी हुन् । कार्यक्रममा सपन इन्टरटेन्मेन्ट लि. ले साउण्ड, लाइट र स्टेजको उत्कृष्ट व्यवस्थापन गरेको थियो । इकान्तिपुर









