गगनशिला खडका
गुल्मी ११ माघ । लाईसेन्स नभएका शिक्षकले पढाउन नपाउने भएछि डेढ महिनादेखी विज्ञान शिक्षकको अभावमा छटपटाईरहेका गुल्मीको प्रस्तावित विशुखर्क माध्यमिक विधालयका प्रधानाध्यापक राजु गौतम अहिले खुसी छन् । आफ्नो विधालयमा विज्ञान विषय पढाइरहेका विज्ञान शिक्षक घर पायक मिलाएर निजी श्रोतमा गएपछि नयाँ शिक्षक नपाएर गौतमलाई विज्ञान शिक्षकको अभावले छटपटी भएको थियो । तर जिल्ला शिक्षा अधिकारीको निर्देशनपछि उनको समस्या समाधान भयो । ‘शुरुमा एकदमै ग्राहो भयो,एसएलसी नजिकिदैँ छ,विषयगत शिक्षक छैन अव के गर्ने होला अन्योलमा थिए ।’ उनले भने – ‘जिल्ला शिक्षा अधिकारी सरले लाईसेन्स नभएको शिक्षक भएपनि नियुक्त गर्नुस भनेपछि त समस्या समाधान भईहाल्यो नि ।’
अध्यापन अनुमतिपत्र भएको व्यक्तीलाई मात्र बिषय शिक्षकको रुपमा नियुक्ती गर्नुपर्ने शिक्षक सेवा आयोगको नियमावलीका कारण गौतम जस्तै गुल्मीका धेरै सामुदायिक विद्यालयका प्रधानाध्यापक तनावमा थिए । अहिले उनीहरुले त्यो तनाव र छटपटीवाट मुक्ती पाएका छन् । विज्ञान विषय पढेको भएपनि अध्यापन अुनमतिपत्र नभएपछि सामुदायिक विद्यालयमा विज्ञान शिक्षक अभावको समस्या चुलिएपछि जिल्ला शिक्षा अधिकारी डा. भोजराज काफ्ले नौलो उपाय निकाले । जिल्लामा टट्कारो रुपमा देखिएको समस्या समाधानका लागि अध्यापन अनुमति पत्र विनाका शिक्षक नियुक्त गर्न अनुमति दिए तर उनले अख्तियारको दुरुपयोग भएको ठहरिने भएका कारण त्यसमा स्पष्ट पार्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र कोरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमान सिंह कार्कीलाई सम्वोधन गर्दै कोरेको पत्रमा काफ्लले सोही अनुरुप जिल्लामा विज्ञान शिक्षकको अभाव र अध्यापन अनुमति पत्र विनाका विज्ञान शिक्षक नियुक्त गर्नुपर्नाका कारण खुलाए । जिशिअको पत्रका आधारमा अख्तियारले सकरात्मक जवाफ पठाएपछि दिर्घकालिन रुपमा नभएपनि तत्कालका लागि समाधान हुने भएपछि सामुदायिक विद्यालयका प्रधनाध्यापक खुसी भएका हुन् । विद्यालय शिक्षकबिहीन नराख्न विद्यालयहरुलाई निर्देशन दिई अख्तियारमा पनि पत्राचार गरेका जिशिअलाई अख्तियारले पनि समर्थन गर्दै पत्र पठायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्तिमा तिन पटक अध्यापन अनुमतिपत्र भएको विज्ञान शिक्षकका लागि सार्वजनिक रुपमा सुचना प्रकाशित गर्दा पनि अनुमति पत्र भएका शिक्षक नपाईएमा अनुमतिपत्र विहिन व्यक्तीलाई पनि शिक्षकको रुपमा नियुक्ती गर्न सकिने भनेर पत्र पठाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विज्ञान शिक्षक अभाव भईरहदा बालबालिकाको भविष्य वर्वाद हुनेभएपछि आफुले जोखिम मोलेर भएपनि अध्यापन अनुमति पत्र विनाका शिक्षक नियुक्ती गर्न अनुमति दिएको जिल्ला शिक्षा अधिकारी काफ्लेले बताए ।
‘ जिल्लामा देखिएको समस्या समाधानका लागि जोखिम मोलेर भएपनि यस्तो कदम चालेको हुँ, अख्तियारको पनि सकरात्मक जवाफ आयो ।’ यो जाकारी पाएपछि खुसी लागेको प्रधनाध्यापक गौतमले बताए । ‘जव अख्तियारले स्वीकृति दिएको खवर सुने त्यसपछि खुसीको सिमै भएन नी ।’ उनले भने । गुल्मी जिल्लाका १२ वटा सामुदायिक विधालयमा देखिएको विज्ञान शिक्षकको समस्या अहिले समाधान भईसकेको छ । शिक्षक सेवा आयोगका स्थायी शिक्षकहरुको नियुक्ती र पदस्थापन सकिन नपाउँदै गुल्मी जिल्लाका निमावि र मावि तहमा १२ विद्यालयाम विज्ञान शिक्षकको अभाव देखिएको थियो । छात्रछात्राको भविष्य र नजिकिदैँ गरेको एस.एलसी विग्रिने ठानेर जिल्ला शिक्षा अधिकारी डाः काफ्लले अख्तियारको स्वीकृति पछि विज्ञान विषयको शिक्षकको अभाव भएका विधालयलाई अध्यापन अनुमपति पत्र नभएपनि विज्ञान विषय पढेका जनशक्ती मध्येवाट विज्ञान शिक्षक नियुक्ती गर्ने अनुमपति दिएपछि समस्या समधान भएको हो ।
विज्ञान शिक्षकको अभाव तत्कालका लागि समाधान भयो भन्ने सुनेपछि खुसी हुने गौतम मात्र होइनन् यस्तै समस्या झेलिरहेका नेटादर्लिङ्ग उच्च मावि दर्लिङ्गका प्रधनाध्यापक तेज बहादुर सुनार पनि हुन् । गुल्मीको पश्चिमी विकट गाविस भएका कारण पनि उनी प्रधनाध्यापक भएको विद्यालयमा सकेसम्म रहरले शिक्षक जान मान्दैँनथे । यदाकदा स्थायी शिक्षक घर पायक मिलाएर बसेपनि त्यहाँ भन्दा राम्रो पाउने वित्तिकै विधालय छोड्ेर हिडिहाल्ने प्रवृतिका कारण सुनार हैरान छन् । नजिकिदैँ गरेको एस.एल.सी. परिक्षाको समयमा विद्यालयमा विज्ञान शिक्षकको अभाव हुदाँ पिर लागेको सुनारले बताए । ‘ मलाई टेन्सन थियो, कहाँवाट शिक्षक कसरी ल्याउने होला अव के गर्ने,विषय शिक्षक नहुदाँ रिजल्ट नराम्रो आउने भयो ।’ उनले भने – ‘अहिले त लाईसेन्स नभएपनि पाईने भएपछि विज्ञान शिक्षक आउनुभएको छ, नियमति पढाई भइरहको छ ।’ अहिले करारमा विज्ञान शिक्षकको विधालयमा पदपुर्ति भएको उनले बताए । अख्तियारको सहमतिपछि जिल्लाका सामुदायिक विधालयमा १० जना निमावि र २ माविमा अध्यापन अनुमति पत्र विनाका विज्ञान शिक्षक नियुक्त भईसकेका छन् ।






