काठमाडौं- नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । सोमवारदेखि नै लागू हुने गरी प्राधिकरणले लोडसेडिङको अवधि बढाएको हो । प्राधिकरणको नयाँ तालिकाअनुसार सोमवारदेखि सातामा ९१ घण्टा लोडसेडिङ हुनेछ ।
यसअघि साताको ८३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अब दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । सरकारले भारतीय नाकाबन्दीलाई ध्यानमा राख्दै लोडसेडिङ नगर्ने र गर्नै परे पनि खाना पकाउने साँझ विहानको समयमा नगर्ने जनाएको थियो ।
तर सरकारले यस्तो घोषणा गरेदेखि नै लोडसेडिङ थपिदै थपिदै आएर सातामा ९१ घण्टा पुगेको छ । जसका कारण साँझ विहानको खाना खाने समयमा मात्र नभै दिनभर नै लोडसेडिङ हुने भएको छ ।
सरकारले भने एक वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने, ऊर्जा संकटकाल घोषणा गरी आगामी १० वर्षभित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रचारबाजी गरिरहेको छ ।
हाल विद्युतको माग करिब १३ सय ५० मेगावाट रहेकोमा भारतबाट २ सय ३५ मेगावाट आयात भएको छ भने निजी क्षेत्रबाट ३ सय मेगावाट विद्युत उत्पादन छ ।
फागुनसम्ममा अन्तरदेशीय प्रशारण लाइन सम्पन्न नभई ८० मेगावाट विद्युत आयात नभएमा दैनिक कम्तिमा १६ घण्टासम्म लोडसेडिङ हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।






