एनआरएन यूकेको टोलीलाई देउवाले भने, ‘गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन पहल गर्छु’

जेनी भट्टराई –

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन पहल गर्ने आश्वासन दिएका छन् ।

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन लबिङ गर्न नेपाल आएको एनआरएन यूकेको टोलीसँग सोमबार साँझ निजी निवास बुढानिलकण्ठमा भएको भेटमा देउवाले आफू सकारात्मक भएको बताए । ‘अहिलेको सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिने विधेयक ल्याए पनि २००७ मा नै पहल गर्ने मै हुँ,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस् विधेयक पास गराउन भूमिका खेल्छु ।’

एनआरएन यूकेको टोलीले नागरिकतासम्बन्धि सरोकार रहेको ज्ञापन पत्र बुझाएको थियो ।

भेटमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने,एनआरएनए आइसीसी सदस्यहरु जय प्रकाश गुरुङ , कुमारी गुरुङ,  एनआरएन जर्मनीका पुष्प थापा, अमेरिकाबाट सोनाम लामा,आयरल्याण्डका पूर्व-अध्यक्ष गणेश प्रसाईं र डेनमार्कका प्रतिनिधि पनि सहभागी थिए ।

प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने महासचिव त्रिपाठीले जानकारी दिए । टोलीले आइतबार नै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, सांसदहरु राधेश्याम अधिकारी र कृष्णभक्त पोखरेलसँग भेट गरेको छ ।