जेनी भट्टराई –
काठमाडौं– नागरिकतामा दबाब दिन आइतबार नेपाल आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत सांसदहरुसँग भेट गरेको छ ।
काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको भेटमा नेम्वाङसहित कांग्रेस सांसद राधेश्याम अधिकारी र नेकपाका सांसद कृष्णभक्त पोखरेलको उपस्थिति थियो । भेटमा नेम्वाङ, अधिकारी र पोखरेलले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धि विधेयक पास हुने विश्वास दिलाए । उनीहरुले विधेयक पास गर्न आफूहरुले भूमिका खेल्ने स्पष्ट पारे ।
भेटमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने, आयरल्याण्डका पूर्वअध्यक्ष गणेश प्रसाईंलगायत सहभागी थिए ।
प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने महासचिव त्रिपाठीले जानकारी दिए । टोलीले सोमबार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।






