काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभागले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले राष्ट्रियता र समृद्धिका लागि आफ्नो पार्टीको स्पष्ट सोच र अडान भएको तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन विगतमा भूमिका खेलेका कारण देशव्यापी लहर आएको विचार व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले घुँडा नटेकेकाले पनि यसप्रति जनताको समर्थन आएको र यसबाट तर्सिएर सरकारमा रहेका दलबीच चुनावी तालमेल भएको तर्क गर्नुभयो ।






