मौन अवधिमा के गर्छन् दलहरू?

काठमाडौं- स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ ।

मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ।

– साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न नपाइने ।

– बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन नपाइने ।

– निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन ।

– उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न पाइँदैन ।

– मतदान अधिकृतले मतदान केन्द्रको वरिपरि मतदानको काममा खटिएका सुरक्षा कर्मचारीबाहेक अरू कसैलाई कुनै प्रकारको विस्फोटक पदार्थ, रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न रोक लगाउनेछन् ।

– मतदान अधिकृतले प्रचार निषेध गरेको अवधिमा मतदान केन्द्रको वरिपरिको क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण र सेवन गर्न निषेध गर्नेछन् ।