- रवि अर्याल
सुलोचना,…तिमीसंग एउटा कुरा गर्नु छ !”
आदर्श अंकलको वजनदार आवाज कानहुँदै छातिसम्म पुग्छ !
मुखैमा लगेको भातको गास बिचमै रोकेर अंकलतिर पुलुक्क हेरे ! उहाँ यसरी बोलिरहनु भाको थियो मानौ ठूलै रहस्यको उदघाटन गर्दै हुनुन्छ ! मौनता लामो रहेन,फ्याट्ट आवज निस्कियो !
“हजुर !”
नर्भस मान्छेहरु सहमतिको हजुर भन्न आतुर हुंदारहेछन !
सुन त,
“एउटा नेपाली केटा छ,वेल सेटल्ड हो,राम्रो परिवारिक पृष्ठभूमी सितको ! सप्पै कुरा ठिक छ,तिमीहरु आपसमा एकपटक कुरा गरन भनेर !”
आश्चर्यको झट्का बिबाह बनेर बज्रियो थाप्लोमा ,तर अकल्पनीय लागेन !
म २५ बर्षकी परिपक्क थिएँ!मम्मीको हालत मेरै बिहे देखेर प्राणपखेरु त्याग्ने जत्तिकै थियो!अंकलको चाहना यूकेमा सेटल्ड गराउने !
शान्त भएर बोलेँ !
“ओके अंकल”
पहिलोपटक केटो भेट्ने कुरामा सहमति जनाउदा,मन ढक्क फुलेर आयो !
……………..
एमबिए सेकेन्ड डिभीजन !
मिहिनेत गर्दागर्दै पनि मास्टरमा राम्रो अंक ल्याउन सकिन!ल्याकत र योग्यताको कसिमा आफूलाइ जतिनै खरो उतार्न खोजेपनि खोइं कहाँनिर कमजोर बनिन्थ्यो..कहिल्लै बुझिन !
ब्याड लक ठान्थे !,
जब मान्छे मिहिनेत भन्दा भाग्यमा भरोसा गर्न थाल्छ,बिहेपनि विकल्प र अवस्क्यता दुवै बन्दोरहेछ !!
स्टुडेन्ट भीषामा कडाइ गर्नेकामलाइ दिन दुइगुना रात चौगुना बनाएको थियो यूकेले,डबल मास्टरमा भर्ना हुन सजिलो थिएन!पि एच डि गर्न आफ्नो हैसियत नपुग्ने! संभावनाका कुनै ढोकाहरु सहज थिएननन,मानौँ अब नेपाल फर्किनुको कुनै बिकल्प छैन !
आफ्नो देश फर्किनुपर्दा शोकले खुप्लुक्क निल्छ,निराशाको कुण्डमा चुर्लुम्म डुबिन्छ,देशको अस्तिरताले खुन भुर्लुक्क उम्लिंछ!सुभकामना र शुभेच्क्षा हैन सहानुभुति र अनुकम्पा मिल्छ! हुनत सबैलाइ त्यस्तो नलाग्ला तर सीमान्त अवसर र उन्नति देख्ने म जस्ता सबैको पीडा एक हो !
……………..
निरज …..!
आँउदो शनिबार भेटहुने मेरो स्वर्णिम सपनाको सुन्दर उम्मेदवार थियो उ !
इन्टरनेटमा उसलाइ खोजेँ!हाइ प्रोफाइलको मान्छेहरुलाइ गुगलले पनि प्राथमिकता दिंदोरहेछ !
सकेजति बुझ्ने कोशिस गरेँ!रिजेक्सनको डर थियो ममा सायद !
प्रतीक्षाको घडी बेचैनीको सुइ बोकेर दौडिन्छ !
बिहीवारको मंद सूर्यलाइ बिदा गर्दै शुक्रबारको चम्किलो बिहान पोखियो,झ्यालको चरबाट छिरेको कलिलो घामको किरणले अनुहारमा मीठो स्पर्श गरेर बिँउझायो!रोमान्टिक मूड हुनुपर्छ सूर्यको रोशनीले पनि मान्छेलाइ काउकुति लगाउंदो रहेछ !
शुक्रबार सपिँग गरेँ,आन्टिले राम्री देखिएर आए है भन्नु भएको थियो,आजसम्म कोहि केटालाइ इम्प्रेस गर्न म राम्री भाकी थिइन !
शनिबार,लन्डन शहर रातभर जागेर अबेरसम्म सुत्छ,तर मेरो आँखामा निद्राको लेसपनि थिएन,बिहानै छ बजेँ उठें,!
ममिको यादले पागल थिएँ,फोन गरेँ,हिम्मत सलबलायो नशा नशामा!आफ्ना सन्तानलाइ बुझ्ने अलग्गै मुटु हुन्छ मम्मीहरुसंग !
प्रमिलालाइ कल गरेँ,रश्मीसंग धेरै भाको थियो नबोलेको,आफ्नो आवश्यकताले मात्र साथीलाइ सम्झने म आज मतलबी भाकी थिएँ!तर साथीहरुले माइन्ड गरेनन,आनन्द आयो !
घन्टा,मिनेट,सेकेन्ड र पल हुँदै अंकलकोमा जाने टाइम भयो,किलबर्न बाट सीधै जुब्लीलाइन समातेर क्यानिंग टाउन,अनि त्यहाँबाट डिएलआर रेल समातेर वुलवीच आर्सनल पुगेँ!अंकलको घरमा सबैजना हुनुन्थ्यो,मेरै प्रतीक्षा रहेछ,मानौँ कुनै रण जितेर फर्केको सिपाहीको स्वागतमा सारा शहर लावालस्कर उभ्भिएको छ !
नमस्तेको औपचारिकता सकियो,केटाकेटि भेट्ने कुरा भयो !
……………..
निरज !
”मैले यति हेन्डसम केटा अहिले सम्म देखेकी छैन” भन्ने फिलिंग आयो
ब्लू जिन्स,पोलो टिसर्ट र फ्रेन्च कट दारीमा उ लोभलाग्दो देखिएको थियो !
सेतो काँसको थालीमा दुइ अम्खोरा चिसो पानी राखिएको थियो,दुइओटा प्लास्टिकको कुर्सी डेढ मिटर जति टाढाको दूरीमा थिए,बैनीको सुकिलो बेडरुममा हाम्रो कुराकानी गर्ने प्रबन्ध मिलाइएको रहेछ !
करिब ८ बजेर २० मिनेट गएको हुँदो हो,
निरज र म कोठामा गयौ !
सास फुल्यो,,मान्छेलाइ डर कित आफूलाइ जित्ने शत्रुसंग लाग्छ,कित यस्तै परिस्थिति संग !
मनलाइ दरो बनाएँ… ह्या बिहे नभएपनि के जहाजै डुब्ने हो र?
नराम्रो कुराको पनि ब्याकअप प्लान भयोभने भबितब्यलाइ समेत सहने क्षमता हुदोरहेछ !
आफू बसेर,नजिकैको कुर्सी मेरो लागि अफर गर्यो निरजले,मान्छे उत्पात राम्रो मात्र हैन सालीन पनि रहेछ !
“नमस्ते” फेरि नमस्ते गरेँ !
“नमस्ते”
“सन्चै हुनुन्छ?
“हजुर!ठिकै छु
शूभ नाम ?
“सूलोचना !
कति बर्ष देखि यूकेमा त ?
आठ बर्ष देखि यहिं छु !”
मलाइ उसले तिमी भनेर सम्बोधन गर्छ जस्तो लागेको थियो,तर उसले त्यसो गरेन!शहरको केटाले तपाइ भनेर मन जितेको थियो!
“स्टडि कहाँ पुग्यो त ?
“भर्खरै एमबिए सकेर बसेकि !
कुन डिभीजन नि?नसोधोस भन्ने प्रश्न पनि तेर्सायो उसले !
“बोर्डरलाइन पर्फरमेन्स”हांसेरै भने,मलाइ लुकाउनु थिएन !
“जब केमा गर्नुहुन्छ?”
आदि आदि……!
उ मात्र सोधिरहने म मात्र बोलिरहने भयो भने मलाइ कस्ति गोज्याँग्री भन्ठान्छ होला भन्ने शंकाले ,मैले पनिप्रश्न सोध्न थालेँ!
“तपाइ कति बर्ष भयो नि यूकेमा?”यो भन्दा उत्कृष्ट प्रश्न आएन दिमागमा !
“१४ बर्ष देखि यतै छु !”
स्टडि,जब कता गर्नुहुन्छ त ?
इम्पेरियल कलेजबाट एमएस्सी फाइनान्स ,हाल एच.एस बिसी बैंक, स्ट्राटेजिक अडभाइजर !
उसले मेरो रुची सोध्यो,मेरो अन्त अफेयर भए नभएको सोध्यो,घरपरिवार ,धेरै प्रश्नहरुको न्यौछार गर्यो,म अनुशासित बिधार्थी जस्तो उत्तर दिइरहेँ !
बिहेगर्दा केटामान्छेलाइ कतिसम्म सेक्रेट बताउनु पर्ने हो,यसको अध्यादेश कहिँछैन साएद!! सुनेर र हेरेर पनि धेरै कुरा बुझ्न सकिन्छ !
तर एउटा डिमान्ड थियो मेरो,डिमान्ड पनि के भन्नु सजाएर राखेको सपना थियो,मैले राखिदिँय उस्को अगाडि;-
“मलाइ बिहेपछि डेन्टल पढ्ने रहर छ !” उसले मन्द मुस्कान सहित मेरो प्रस्ताब माथि “ओके” भन्यो !
सौहार्दपूर्ण रुपमा एघार बजे कुराकानी सक्यौ !
उनीहरु घर गए म अंकलकोमै सुतेँ !
रातभरि निद्रा परेन,दश पटक कोल्टे फेरेँ !
मन कहिले फूल,कहिले पत्थर बनेर यताउति डुलिरह्यो,निद्रा आफ्नो अधीनमा हुनेभए मान्छेहरु कति चैनको साँझ बिताउंदा हुन?
निरजलाइ सम्झेँ,बैवाहिक जीवन सम्झें,घर र माइतको भिन्नता सम्झें,करियर,आफ्नो रुची र अभिलाषाका थुप्रै गौँडाहरु पार गर्नुपर्ने अठोट सम्झेँ !
एक्ली मम्मीको याद आयो, रुन मन लाग्यो ,केहि थोपा आँशुहरु ब्लाँककेटले नै पुछेर सुकाँए!
“खबर गर्छन रे! केटाले बाआमा संग कुरा गरेर फाइनल डिसिजन दिने रे,!” बिहानै चियाको पहिलो चुस्कीसंगै अङ्कलले भन्नुभयो
सिबिआइको अन्तरबार्तामा यति झमेला हुन्नहोला,जति एउटा केटाको सामु आफुलाई योग्य साबित गराउदा हुन्छ!
कहिलेकाही अभिमानको तीखो तरबार कलेजोको आरपार घुस्थ्यो!जाबो एकजना केटाको दृष्टिकोणले म यति बिचलित हुनुपर्ने?आत्मसम्मानले घोच्थ्यो!
कुनैदिन जुझारु,ट्यालेन्ट र आत्मविश्वासी सुलोचना थिएँ,स्कुल पढ्दा स्वच्छन्द सपनाकी रानी थिएँ!निडर र निर्भय सूलोचना!टिचरकी प्यारी र कलासकि फस्ट!
अतीत स्मृतिको तखतामा सजीव भएर आयो,…! फेरि सोंचे “प्राक्टिकल बन्नुपर्छ लाइफमा!”
……………..
फेब्रुवरी ४ तारिख, नर्थग्रीनवीच स्टेशन,अनिदो रातका आँखा अझै राता थिए!
अंकलको फोन आयो,त्यो केवल एउटा कल थिएन,मेरो अग्निपरीक्षाको नतिजा थियो,निरजको असेप्ट र रिजेक्टको भयंकर संदेश थियो!
“कता छौ नानु?” अंकलको बोलीमा बुवाको आत्मीयता महसुस गरेँ,हाम्रो बुवाको बोली पनि ठ्याक्कै अँकलको जस्तै थियो!
“उनीहरुले हुन्छ भनेका छन,केटि मन पर्यो भन्ने कुरा छ,बाँकि यहिँ आएर सबिस्तार गरुम्ला.!”अंकल सधै फर्मल टोनमा बोल्नुहुन्छ!
साँच्ची?!!
ठूलो सफलता हातलाग्दा कस्तो रियाक्सन देखाउने भन्ने नबुझेको बालक जस्तै भए म!
पारीपट्टि निरजले काम गर्ने बैंकको बिल्डिंग आकाश छुँलाछैँ गरेर ठिंग उभ्भिएको थियो,उत्ताउलो बनेर…!मन भरिन्जेल हेरेँ!
“निरज तिम्लाइ कस्तो लाग्यो?”कसैले सोधेन,
साएद एलिट मान्छेहरुलाइ मूल्यांकन गर्ने हाम्रो हैसियत नै ठानिदैन!तर निरजलाइ म मन पार्थे अभिमानको फेहरिस्तले यो अवसरलाइ चुनौति दिएर बहादुर नारी साबित हुनु थिएन!आफुलाई बुझ्ने जीवनसंगी मलाई पनि चाहिएको थियो !मेरो आदर्श पुरुषको कल्पनामा निरजको छवि देखिसकेकी थिएँ!
हेन्डसम,पढालेखा,कुलीन र समझ्दार !सपनाको संसारमा चुर्लुम्म डुबुल्कि मारेँ!निरज र मेरो जोडि देखेर सबैले वाह भन्छन जस्तो लाग्यो,मेरा सपना ठूला थिएनन!
यहि महिनाको १७ गते,उत्तम लगन रहेछ!
समयको चटारो,बेजोडले बिहेको तयारी सुरु भयो,म मानसिक रुपमा तयार थिएँ,बुहारी बन्न,खुसी थिएँ,उसंगको मीठामीठा कल्पनाले एक्लै मुस्कुराउथे ,रमाउँथे,निरजको सम्झनाले मात्र यति खुसी दिन्छ भने उसंगको बास्तविक साथले कति आमोदप्रमोद मिल्ला,उल्लासले मन चंगा बनेर गगन चुम्थ्यो!
बर्मिंगम हिन्दू मन्दिरबाट १७ गते बिबाह भयो,निरजले मेरो ओभानो सिँउदोमा दुइ चिम्टि सिन्दूर हालेर हामी बैवाहिक गाँठोमा बाँधियौँ,पन्डित केशवराजका शुद्द मन्त्रका ऋचाहरु साछी बने!
एउटी नारीले बुहारी र श्रीमतीको रुपमा पुनर्जन्म लिइ!
दुइ महिनामै दुइसय पाउण्डको कोठाबाट हाफ मिलियन पाउण्डको घरमा भित्रिएकी थिए,मान्छेको भाग्यले कति बेला पोल्टा मार्छ कसैलाइ थाह नहुदोरहेछ!
साउथ ह्यारोको चार बेडरुमको त्यो घर मेरै मुटुको टुक्रा जत्तिकै प्यारो लाग्न थाल्यो,निरज त्यही मुटुको ढुकढुकी थियो!
साढे तिन बर्षको स्पाउज भिसा एक हप्तामै आयो!प्रमिलाले भनेझैँ म लक्की थिए!
जब सौभाग्यको घाम शीरमा पोखिन्छ ,,तकदिरले नि चरणस्पर्श गर्दोरहेछ!
……………..
“पोखरा जाँउ न!”
हनिमुनको लागि मैले नेपाल सिफारिस गरेँ,मम्मिसंग भेट नभएको बर्षौ भएको थियो!
,उसको पेरिस भन्दा पोखरा पक्कैपनि मितब्ययी हुन्थ्यो!
जब जीवनसाथीले आफ्नो योजनामा साथ दिन्छ नि,संसार खुसिले झुम्छ!
म्याँलोलिना होटेल भब्य थियो,पोखराकै मुटुमा!दुइ हप्ता त्यहिँ बसेर घुमघाम गरियो!
निरजसंगको नयाँ जीवन रमाइलो थियो,खुसीले उफ्रेर बुर्कुसी मारुँ जस्तो हुन्थ्यो,त्यसैमाथि नेपाल यात्राले थुप्रै ताजगी थपिदिएको थियो!हनिमुन र होलिडेका १५० वटा फोटा फुसबुकमा राखें,निरजलाइ ट्याग गरेर,म संसारलाइ निरजजस्तो पति भेटाएकि छु भनेर गर्व गर्न चाहन्थे!
सप्पै नारीलाइ यस्तै जीवनसाथी मिले संसार कति खुसी हुन्थ्यो होला?
हनिमुन सकियो,लन्डन फर्कियौँ!
नयाँनया बेहुली,कतिपय घरधन्दा र बुहर्तनको ज्ञान आलोकाँचो थियो,उसैमाथि निरज प्रिजेन्टेशनको लागि ४ दिन अगाडि हंगकंग गएको थियो!घरमा आफन्तहरुको गेट टुगेदर कार्यक्रम!मलाइ निरज भाको बेला गर्याभए हुनेझैँ लाग्या थियो तर केहि बोलिन!बुवाको साथी रिटायर्ड भएकोले अपर्झट गर्नु पर्या रे!उपस्थित हुने पाहुनाको लिस्ट लामो थियो!
“सुलोचना, आज रातो साडि,ब्लाउज र पछ्यौरी ओढ्ने है!जिन्स र टिसर्टमा हैन,टिपिकल नेपाली देखिनु ल!” जिन्दगीमा पहिलो पटक मैले के लगाउनु हुन्छ र के लगाउनु हुंदैन भन्ने आदेश पाएकी थिएँ!
“हस् मम्मी!
सासुआमाको आदेशलाइ शिरोपर गरेँ!
“मम्मी,आज “एलिना” आँउदिन र?पन्जाबी केटिलाइ काम दिने औकातको परिवार थियो निरजको
“आँउदिन रे सुलोचना आज!”
” जुनदिन बढ्ता आवश्यकता पर्छ त्यहिदिन छुट्टि लिनुपर्ने “मनमनै मुर्मुरिँए!
आलुको अचार,पुलाउ राइस,खसी र चिकनको अलग अलग मासु,चट्नि, बनाउँदा ज्यान थिलोथिलो बनेको थियो,त्यसैमाथि जुठा भाँडा!
“धन्य छोरी पाएकि रैछौ आमा,यति काम गर्दापनि अझै सास फेर्दै छे!” मनमनै आमा सम्झेँ!
१८ हजारको साडीमा सजिएर किचनमा काम गर्दा आफैलाइ चिडियाघरकि मयूर जस्तै लाग्यो!
“बुहारी त गज्जबकि भेट्टाउनु भएछ,नेपालबा’ट ल्याएकि कि यहिँ भेट्टाउनु भयो?” सासुसित कसैले कानेखुसी गर्दै थियो!
“यहिँ हो,भीषा सक्केर फर्कन लाकि थिइ!स्टुडेन्ट मा आकि,उद्दार गरेर राखेको!”
सासुआमाको जबाफले रिसको पारो १८० डिग्रीमा मा पुग्यो!
सबैभन्दा नजिकका मान्छेसितै सबैभन्दा ठूलो चोटदिने क्षमता हुँदोरहेछ,मन भक्कानियो!फेरि जमघटको दिन रोएर सिन कृयट गर्नु पनि भएन !
रातको पौने एकसम्म पाहुनाको बिदाइ र शेष काम गर्नमै बसेँ,आलस्यताले शरीर हलचल गर्नपनि नसक्ने भएको थियो,निदाएछु पत्तै भएन!
अर्कोदिन बिहानै निरजले म्यासेन्जरमा म्यासेज गर्दै भोलि आउने सूचना दिएको रहेछ!
म भिसाको प्रलोभनमा फँसेर बिहे गरेकी थिइन! ,मत शारिरीक,मानसिक रुपमा परिपक्क थिएँ,निरज बिबाहयोग्य लाग्यो एकदम स्वाभाविक एरेन्ज म्यारिज भाको थियो!
“कतिपय कुरा आफुले बुझेर मात्र नहुदो रहेछ!अरुको बुझाइले नि मान्यता राख्दो रहेछ!”
अर्कोदिन गेटविक एअरपोर्ट पुगेँ,कार त्यहिँ पार्किंग थियो,क्याथे प्यासिफिकको हरियो र सेतो कलरको ठूलो प्लेन गेटविकको भूमीलाइ किस गर्दै ल्यान्ड गर्यो,मेरो निरज त्यहि भित्र थियो!
हातमा सानो ह्यान्ड क्यारी अनि एउटा गुडाउने सुटकेस बोकेर आएको परैबाट देखेँ,हातमा समातेको फूलको प्लास्टिक पसिनाले कच्याककुचुक हुन आँटे जस्तै भयो!
“हाए,सुलोचना! हाउ आर यू! ” मन्द मुस्कान सहित मेरो उपस्थितिको आदर गर्यो!
उसले मलाइ देख्ने बित्तिकै अंगालो मार्छ होला,उसको सुटकेसलाइ साइडमा लगाएर मलाइ आफ्नो न्यानो बाहूपासमा बाँध्छ होला,’”हे सुलोचने,कस्ति राम्री देखिएकी? मिस यू,”भन्दै मेरो कपाल हल्लाइदिन्छ होला भन्ने लागेको थियो,तर उसले यस्तो केहि गरेऩ! म भने हिजो देखिको थकान उसैको ढुकढुकी सुनेर भूल्न चाहन्थें
५० माइलको निस्तब्ध यात्रा गरेर घर आइपुग्यौ!
त्यस रात केवल रितको लागि रात बन्यो,म उसंग अन्तरंग हुन चाहन्थेँ,उसको पाखुराको सिरानीमा सुतेर लाडे पल्टन चाहन्थेँ,उसको दारीलाइ तानेर,अब नकाट्ने भन्न चाहन्थे,उसको थाकेको शरीरमा तेलले मसाज गर्दिन चाहन्थेँ! तर त्यस्तो केहि भएन, …!दुवै क्लान्त थियौ,उ बैंकको कर्पोरेट पोलिसी बनाउदा थाकेको थियो,म घरधन्दाले शिथिल थिए!
एवमरितले दाम्पत्य जीवनको रथ गुडिरहेको थियो,उकालो ओरालोको सारथी थिए म!
उसलाई प्रसस्त स्पेस दिन्थे,मलाई उसले पाखे नसम्झोस भन्ने डर लाग्थ्यो,
डेन्टल कोर्षको सेसन सुरु भैसकेको थियो!
म पढ्न चाहन्थेँ,डेन्टलप्रति मोह हुरुक्क थियो!स्टुडेन्ट भीषामा पढ्ने चाहना हुंदाहुदैपनि पढ्न मिलेको थिएन
“निरज,म डेन्टल भर्ना हुन्छु है,एडमिसन बन्द हुँदै छ!”
“मम्मीसंग कुरा गर न यो बारे! ”
एक मिनेट नसोची उ पन्छियो,मानौँ उसको हातमा केहि निर्णय क्षमता नै छैन!
एकदिन डिनर टेबलको कुनामा सासुआमा किताबमा केहि हेरिरहनु भएको थियो,निरज अर्को कुनामा गीत सुनिरहेको थियो,म उत्तम मौकाको प्रतीक्षामा थिएँ!
“मम्मी…! “मैले सासुआमाको ध्यानभंग गरेँ!
पारदर्शी चस्मालाइ आँखामाथि सार्दै सासुआमाले यसरी हेर्नुभयो मानौँ उहाँको अगाडिको ठूलो भाग मैले झम्टिँदै छु!
“अँ,भन सुलोचना,,,!”
“मम्मी,म डेन्टल भर्ना हुन्छु है ?,एडमिसन खुल्या छ! ”
“सासु आमा यति गहिरो सोंचमा पर्नुभयो,मानौ तेस्रो विश्वयुद्द घोषणाको कागजमा हस्ताक्षर गर्दै हुनुन्छ!
“सुलोचना,,तिम्लाइ थाहै छ,एलिना आँउदिन,निरज काम र बाहिर सारै ब्यस्त हुन्छ,मैले काम गर्न सक्दिन! कसरी मिल्छ र पढाइ गर्न अनि यत्रो घर हेर्न?
“पार्ट टाइम हो मम्मी,म म्यानेज गरिहाल्छु नि!”
म कन्भिन्स गराउने पक्षमा थिएँ!
“जे भएपनि तिमी उता केन्द्रित भएसि असर त परिहाल्छ नि,सो ..म पोसिबल देख्दिन!”
किताब बन्द गरेर सासुआमा जुरुक्क उठिन ,निरज अगाडिनै गइसकेको थियो!
लामो सास फेरेँ,रुममा गएँ, परिवारको ग्रुपफोटोमा साइडमा रातो साडि लगाएर उभिएको एउटा फोटो भित्तामा थियो,आँखा धेरैबेर त्यहिँ गएर अडिए!म बिहेगर्न असेप्ट भएकि थिएँ,आफ्न सपना पूरा गर्न उपेक्षित !
अन्तर्द्वन्दको बाढि उर्लियो मनमा,के नमिलेको?के नपुगेको,खल्लो खल्लो जस्तो लाग्यो जीवन!
मन आँटिलो बनाएँ,हिम्मत हारे परिस्थितिको दासी भइन्छ भन्ने बुझेकि थिएँ !
कोठा हेरें, छरपस्ट थिएन,टम्म मिलेको थियो ,मानौ जुगौँदेखि यो कोठामा कोहि बस्दैनन! सुसज्जित र सुग्गरिलो थियो,तर रुम जस्तो सफा मन थिएन!बरु मन उजेलो हुनुपर्छ,कोठा जाबो जति भताभुंग भएनि आनन्दको नींद आँउदो हो!!
“आइ वील बि लेट टुनाइट,यू क्यान ह्याभ योर डिनर!”
उ लन्डन भएको बेला उसलाइ नकुरी म कहिल्यै खाँदिनथेँ,प्रेमले जितेको थियो मलाइ ! उसलाइ सच्चा माया गर्न थालेकि थिएँ!बिहेपछि माया झाँगिदो रहेछ एरेन्ज म्यारिजमा,
आजपनि कुर्ने निधो गरे
करिब साढे दुइ बजे ढोका घ्यार्रयाक्क उघ्रियो,निरज मातेर आएको रहेछ!मैले यसअघि यति धेरै मातेको देखेकि थिइन!
“ह्वाट यू डुइँग हिएर,,!?
“तपाइलाइ कुरेर बसेकि,जाँउ खाना खान! ”
“ह्वाट ! खाना खा भन्या हैन? कोसंग च्याट गर्दै
मस्केकी?
जब केटामान्छे आफ्नो लागि इर्श्यालु हुन्छन नि,हेर्न लायक हुंदो रहेछ,खुसिभए
निराशाको दैनिकीमा ब्रेक लागेजसरी!!
निरजले खाना खाएन,मलाइ पनि भोक थिएन,फेरि खाना नखाइ सुत्न ठिक लागेन थोरै खाना खाएर निस्केँ रुममा!
उ कपडा चेन्ज गरेर बेडमा बेवारिसे फालिएको थियो,रक्सीले मातेपनि कुरा गरेको बुझिन्थ्यो,बोली लर्बर्रिएको थियो!
“मम्मीले के भनिस्यो तंलाइ डेन्टल पढ्नलाइ?
उसले मलाइ शब्दैपिच्छे यसरी “तँ” भनेको थिएन!
मम्मीले रिफ्यूज गर्नुभयो,हुंदैन भन्नुहुन्छ!मलाइ यो आइस्यो ,गइस्यो बोल्न गार्हो लाग्थ्यो!
“इट्स ओके, अपुग के छ र?पैसा छ!भीषा छ!लन्डन छ! घरमा सबथोक छ,मेरो इनकम तीनलाख पाउन्ड छ! ” मम्मीको कुरामा अग्री हुनुपर्छ!
“तपाइले त हुन्छ भन्नुभाको हैन अंकलकोमा भेट्दा?” उसलाइ भन्न मन लागेको थियो!
यो पनि भन्न मन लागेको थियो”मेरी एक्ली आमाले कस्ट गरेर पढाएको तिमीहरुको घरमा तीनथरी मासु बनाउन मात्र हैन!”
तर यो शराबी माहोललाइ म अझ फोहरी बनाउन चाहन्नथेँ! चुपै बस्नु ठिक सम्झे!
चुप लागेको देखेर निरजले मेरो मौन सहमति ठान्यो होला!
उदास रातलाइ रोमान्टिक बनाउने दुष्प्रयास गर्दै थियो!
“डिड यू ह्याभ फिजिकल रिलेसन विफोर विद समवन?”
मनपरी सोधेर उ पुरुष भएको हैकम जमाउदै थियो.
“नेभर,मलाइ आजसम्म कोहि केटाले छोएको सुद्द छैन!”
उ मुसुक्क हाँस्यो,मानौ आज उ आफूलाइ अलेक्जेन्डर सोच्दै छ!
देह सुख र मनको कति अनोन्यश्रित सम्बन्ध हुंदो रहेछ भन्ने अनमोल ज्ञान त्यो रातले दिएको थियो!
मैले मेरो पढ्ने सपना साकार पार्न जोइटिंग्रे ससुरासंग अनुनय गरेँ,सासु आमाको चरणस्पर्श गरेँ,निरजसंग डेन्टलको भीख मागे!अहँ,मेरो आकांक्षा टुट्ने बाहेक केहि हात लागेन!सपनाहरु टुट्ने रात त्यसै बिरसिलो लाग्दै थियो !!
मैले मेरो डेन्टल पढ्ने चाहनालाई तिलान्जली दिएँ,केवल निरजलाइ पाउन!बैवाहिक जीवनको रथ गुडाउन मलाइ यो सम्झौता केहिझैँ लागेन!प्रेमले मान्छेलाइ स्टुपीड निर्णय लिने बनाउँदोरहेछ!
निरज हाइ क्लासको क्लबिंग जान्थ्यो,साथीहरुसंग आउटिंग जान्थ्यो,क्लबबाट लेट नाइट आउँदा रक्सी धोकेर आउँथ्यो !थुप्रै लक्जरी होलिडेमा हिड्थ्यो कलिक्सहरुसंग! तर मलाइ कहिल्यै संगै जाँउ भनेन उसले!
म उसको खुसीमा भागीदार हुन चाहन्थे,तर उ एक्लै खुसि हुन्थ्यो!
घरमा गेटटुगेदर हुँदा उसका थुप्रै हाइ प्रोफाइल केटि साथीहरु हुन्थे,प्रतिष्ठित नेपाली हुन्थे,सक्सेसफूल प्रोफेसर,अकाउन्टेन्ट,इन्जिनियर र सोसल वर्करसंग उसको कनेक्सन राम्रो थियो!यस्तो लाग्थ्यो यूकेमा यति प्रगति गरेर बसेका नेपाली पनि छन! सप्पै निरजका साथी थिए!
कुन्नि के कमि थियो ममा,परिवारमा फिट हुन सकिन!कुनैबेला हिनताबोधले नाजुक बनाउँथ्यो!
सबथोक थियो,ठूलो घर,भनेजति ब्याँक ब्यालेन्स,! तरपनि मलाइ अपनत्व खट्किरहन्थ्यो,आफ्नोपनको स्नेहकि भोकि थिएँ!
सासु आमा त मलाइ भीसाको लागि बिहे गरेकि,भन्ने मानसिकताको रोगी हुनुन्थ्यो,तरपनि यो कुरा हजम गर्न सिकिसकेकि थिए,मैले बिहे त निरजसंग गरेको हो,उसबाट माया,स्नेह र आत्मसम्मान पाए म जस्तोसुकै दुख झेल्न सक्थेँ !
रोडको बत्तिको उज्यालो हो वा जूनेली रातको रोशनी,ह्यारो लेनको लामो बाटो छ्यांग्गै देखिन्थ्यो,मोबाइल हेरेँ,३ बजेर २१ मिनेट गएको रैछ! निरज भर्खर आएर पल्टेको थियो,रक्सी पिँउदा उ घूर्छ,म घुर्ने मान्छेसंग सुत्न सक्दैन्थें रे बच्चैदेखि,बुवासंग समेत सुत्दिनथे रे!तर प्रारब्धको लेखा अर्कै रहेछ!म घुरुवाको जोइ बनेकि थिएँ!
उसको मोबाइल स्टडि टेबलमा थियो तर साइलेन्ट मोडमा ,खोइ किन हो उसको त्यो आइफोन सेभेन प्लसमा गएर टक्क आँखा अडिए,उसको मोबाइल छुन मन लाग्यो ,रोकिँए,आजसम्म म जासुसी गरेर उसको मोबाइल हेरिकी थिइन,उसले देख्यो भने के प्रतिक्रिया जनाउला,यो बारे बिल्कुल अनभिज्ञ!फेरि सोचें उसकी अर्धांगिनी त हु नि,कुन अपराध होर आफ्नो बुडाको मोबाइल हेर्नु??
तैपनि उ भुस निद्रामा थियो,मोबाइलको पासवर्ड सम्म थाह थियो,खोलेँ,
ह्वाट्सएपमा १२ नोटिफिकेसन रहेछ,५ वटा ग्रुपमा अरु स्नेहा (एट वर्क) नाम गरेको ब्यक्तिबाट!ग्रुप नोटिफिकेनको वास्ता लागेन,स्नेहाकोमा गएँ,जब म्यासेजमा बुढि औँलोले हानेर क्लिक गरेँ,मेरो पैतलामुनिको जमिन भाषियो,सिंगै आकाश खसेर मलाइ च्याप्यो,चिड्चिडाहाटले शरीर भरि चिलायो,पसिना निक्लियो,कान ताता भए!
“ह्याए!हनि ..ईट वाज असम नाइट, आइ इन्जोएड मोर द्यान हंगकंग,,!” लभको स्माइलि सहित ५ ओटा उसंगका न्यूड फोटा सेन्ड गरेकि थिइ!एउटा फोटो एचएसबिसी हेडक्वाटर नजिकै फ्रेन्च किस गरेको थियो!
बोत्तलको पानि पिएँ,ठूलो सास फेरेँ,निरज होकि होइन भन्ने कनफर्म गर्न उसको फेस जुम गरेँ,हो रहेछ!..!मोबाइल हातबाट खस्लाझैँ भयो तर खसेन,,कन्टिन्यू हेर्दै गएँ!
“लभस्ट्रोक” भन्ने एप्पलिकेसनमा नोटिफिकेसन आयो,च्यापिएछ,एप्पलिकेसन खुल्यो!
“ओमाइगड!!!!!!!
उ डेटिंग साइटको प्रिमियम युजर रहेछ,३ वटि नेपाली अनि २ वटि ब्रिटिश केटिसंग मल्टिपल अफेयर!अनि हेर्नै नसकिने अन्तरंग फोटाहरु र म्यासेजहरु!
उसका फोटाहरुले मुटु छियाछिया पार्यो,उसका म्यासेजहरुले आत्मसम्मान धुजैधूजा बनायो,उसको नजरमा म नोक्कर थिएँ,सोझि गाँउकि केटि थिएँ जसले उसको हाइ प्रोफाइल लाइफको कुनै चाल पाँउदिन,भीषा पाएर मख्ख छे! मेरो परिचय जीवनसाथीको थिएन,मेरा रहर र लोभलाउँदो भविष्यको गर्वमाथि बुट बजारिएको थियो!
यत्रो धोका! मलाइ पुगिसकेको थियो,उप्रतिको घृणाको ठूलो मुस्लो घाँटिमै आएर अड्कियो!
खोइ किन हो,आमासंगको च्याट हेर्छुभन्ने लाग्यो,म्यासेज हुंदो रहेछ ज्यादातर,स्क्रोल गर्दै गएँ,निरजको आमाछोरा उदांगिँदै गए!म भित्रिएर एलिनालाइ निकालिएको रहेछ,एलिनाको ठाउंमा मलाई प्रतिस्थापित गरिएको थियो!
मोबाइल लक गरेर उस्तै पोजिसनमा राखिदिएँ,मनमा बेचैनिको हुरी मडारियो,जति बल गर्दापनि आफूलाइ सम्हाल्न सकिन!आक्रोश र घृणाको ज्वाला दनदनी बल्यो,बाहिर निस्कें,चिसो बढेको रहेछ,आफ्नो शरीरप्रति पहिलोपटक घृणा लागेर आयो!यति सम्हालेर राखेको शरीर,कस्तो मान्छेलाइ सुम्पिन पुगेछु?पश्चतापको ज्वरो उच्च थियो,सायद कसैगरि भर्पाइ गर्न नमिल्ने गरि!
जब समय बिरानो हुन्छ नि,टक्क अडिएर यसले पनि खिसीगर्दो रहेछ
,सहि ठाँउमा सहि मान्छेसित भक्कानो छोडेर रुन मन थियो!मम्मी टाढा हुनुन्थ्यो भन्न ठिक लागेन!
फेरि अझैपनि सहेर बस्न मेरो स्वाभिमानले दिएन!
अंकलसंग सबैकुरा सेयर गरेँ,पराजित मुहारले उहाँभित्रको पछुतो ओकलिरहेको थियो! कृतज्ञताको ऋण चुकाउन कति गार्हौ हुन्छ भन्नेकुरा अंकलको मुखमन्डलबाट थाह पाँउथे!
चिच्चाएर कथित संभ्रान्त परिवारको उछितो काट्न मन थियो,निरजको मुखमा थुकेर हिंड्न मन थियो,सोसल वर्करलाइ सबै भनेर इज्जत धूजाधूजा पार्दिन मन थियो! तर यसो गरिन!
म उनीहरुले सोंचेजस्तो गाँउकी लाटि केटि थिइन,जस्को स्थान श्रीमति र बुहारीको नभइ दासीको होस! म निरजको भोग पुरा गर्ने यन्त्र थिइन,म परिवारको लाज छोप्न भीसाको सौदामा किनिएकि बुहारी थिइन!म ब्रिटिश बन्ने अभिलाषाको रोगले सिकिस्त भएर उसंग बिहे गरेकि पनि थिइन,तर उनिहरुलाइ यस्तै लाग्यो,मेरो जीवन नर्कतुल्य गराएर!
म्यासेज लेखें निरजको लागि,”
“निरज,मैले सबैकुरा थाह पाएँ,सप्रमाणको लागि मसंग स्क्रिनसट पनि छन,म पश्चतापको रागमा जलिरहेकी छु,तिमी जस्तो कातर,सिक अनि ब्यभिचारी ब्यक्तिकी श्रीमति भएकोमा!त्यो घर र तिम्रो हर्कत सम्झदां घिन लाग्छ!मन बुझाउन गार्हो भैरहेको छ,दुर्दिनले त्यो पापी घरसम्म लगेछ,जहाँ नारीको परोक्ष शोषण हुन्छ,उसको आत्मसम्मानको नांगो बलत्कार हुन्छ,उसको भावाना माथि खेलवाड गरिन्छ,तिमीहरु आधुनिक शोषक हौ निरज,!महिलाहरुको अस्तित्वबोध गर्न नसक्ने पुरुस सम्पूर्ण मानव जातिकै कलंक हो!कुण्ठा र असन्तुस्टीको गर्हौ भारी बोकेर चल्ने तिमीहरु दुनियाकै कम्जोर लोग्ने हौ,न त आफु खुसि हुने न त अरुलाइ खुसि बनाउन सक्ने!अंग्रेजी बोल्दैमा सभ्य भैइदैन,तिमीहरु पाखण्डी हौ!त्यो ठाँउलाइ घर भन्नपनि घृणा लागेर आँउछ! यू आर चिटर,कपटि र नामर्द पुरुष हो! सोसाइटिमा गतिलो पोजिसन बनाएको स्वांग रच्दैमा मान्छे सफा हुंदैन,मेरो नजरबाट गिरेको मान्छे हो तिमीहरु!भीषा,प्रतिस्ठा ,र पैसाको आडम्बरले अफ्ठ्यारोमा पर्नेलाइ जे पनि गर्न पाइन्छ भन्ने फटाह हौ तिमीहरु! मैले मेरो भीषाको बायोमेट्रिक कार्ड तिम्री आमाको सिरानमुनि राखिदिएकी छु,त्यसैसंग सति जान भन्नु!
आइ हेट यू निरज! आइ डिभोर्स यू !!






