काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाव दिएका छन् ।
शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले हतार गरेर राजीनामा नदिन सुझाव दिएको निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा निधिले बोल्ने तयारी गरे पनि बिहान सभापति देउवासँगको १० मिनेटको छलफलपछि आफ्नो धारणा नै नराखेको देउवानिकट स्रोत बताउँछ ।
आफू प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा रहेका वेला राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकासमन्त्री बनाएपछि वरीयतामा को अगाडि भन्नेमा विवाद देखिँदै आएको छ ।
निधिले वरीयतालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै राजीनामा दिने विषय बाहिर आएको तीन दिन बिते पनि उनले राजीनामा दिएका छैनन् । स्रोतका अनुसार निधिले राजीनामा नदिए पनि दोस्रो वरीयता नपाएसम्म मन्त्रिपरिषद् बैठकमा भने जाने छैनन् ।






