कांग्रेसले तय गर्‍यो चुनावी नारा, नारामा के छ ?

काठमाडौं– कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी नारा तय गरेको छ ।

रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको हो ।

कांग्रेसले ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा रूखमा भोट कांग्रेसको नाउँमा’, ‘सिंहदरबारको अधिकार गाउँघरमा ल्यायौँ, उन्नतिका लागि कांग्रेसलाई जिताऔँ,’ ‘मधेसी पहाडी दलित जाति जनजाति सबै मतान्तरभन्दा नेपाल देश माथि’, ‘सिंहदरबारको अधिकार गाउँघरमा, कांग्रेस नै राम्रो जनताको नजरमा’ र ‘हिमाल पहाड तराई मधेस, कांग्रेसले दिन्छ राष्ट्रिय एकताको सन्देश’ भन्ने सहायक नारासमेत तय गरेको छ ।

निर्वाचन समितिले तय गरेको चुनावी नारा प्रत्येक जिल्लामा पठाइसकेको जानकारी पौडेलले दिए ।

शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले छिटो चुनावी नारा तय गरी घोषणापत्र तयार गर्न तल्लो तहमा पठाउन आग्रह गरेका थिए ।