काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएसँगै गर्ने कामको सूची तयार गर्न लागेका छन् । उनले ओली सरकारले गरेको एउटा अलोकप्रिय कदमलाई सच्चाउने तयारी गर्दैछन् ।
सत्ता गठवन्धन टिकाउन ओली सरकारले अनावश्यक रुपमा टुक्राएका मन्त्रालयलाई प्रचण्डले जोडने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डवीच मन्त्रालय टुक्राएर भागबण्डा नलगाउने सहमति भएको छ ।
‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउँदैनौं, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउँमा गाभ्ने सहमति गरेका छौं,’ माओवादी उच्च स्रोतले भन्यो।
ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए। त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए।
कांग्रेसलार्इ १३ र माओवादीलार्इ ९ मन्त्रालय
कांग्रेस-माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ।
कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ। त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन्।
स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने सहमति भएको छ। बाँकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ।






