बेलायत सरकारसँग त्रिपक्षीय वार्ता गर्दै गोर्खा सैनिक

सत्याग्रह संघर्ष समितिले भन्यो, ‘इतिहासकै ठूलो उपलब्धी’

लन्डन– गोरखा आन्दोलनको साढे दुई दशकपछि गोर्खा सैनिकले आफ्नो मागबारे सिधै बेलायत सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले इतिहासमै पहिलोपटक बेलायत सरकारसँग त्रिपक्षीय वार्ता गर्ने भएको छ । गोर्खा सैनिकका मुद्धाहरु सम्बोधन गर्ने बाध्यात्मक परिस्थितिमा आइपुगेको समितिले जनाएको छ ।

त्रिपक्षीय वार्ता आगामी २९ मार्च २०१७ मा बेलायती रक्षा मन्त्रालय, लण्डनमा हुने भएको छ ।

‘यो ब्रिटिश गोरखाका समस्या कुनै व्याक्ति, या समूहको मात्र सरोकारको बिषय नभएर, सम्पूर्ण गोरखाहरुको साझा मुद्धा हुनका साथै नेपालको राष्ट्रिय मुद्धा पनि हो । त्यसर्थ यो वार्तालाई निर्णायक र परिणाममुखी बनाउन, यस घडिमा सबैले गोरखा मुद्धाका बिषयमा गम्भीर बनिदिन बिशेष अनुरोध गर्दछौं,’ समितिका प्रमुख संयोजक सन्तोष थलङद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

आन्दोलनलाई कमजोर बनाउन बेलायती रक्षा मन्त्रालय र तिनका मातहतका कर्मचारी वा प्रतिनिधिहरुले प्रत्यक्ष वा परोक्षरुपले गोरखाहरुका धारणा बुझ्ने निहुँमा भिन्नमतहरु संकलन गरेर वार्तामा कमजोर बनाउन सक्नेतर्फ संकेत गर्दै समितिले एकमुख भएर समितिलाई सहयोग गर्न अपिल गरिएको छ ।