सडकले नछोएका दुई सदरमुकाम

भरत पाण्डेय
काठमाडौं
विकासको मेरुदण्डका रूपमा मानिने सडक अझै नेपालका दुईवटा जिल्ला सदरमुकाममा पुग्न बाँकी रहेको छ। डोल्पा जिल्लाको दुनै र हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा अहिलेसम्म सडक पुग्न सकेको छैन।
यसै गरी विभिन्न ११ जिल्लामा मौसमी सडकमार्फत् सवारी आवागमन हुने गरेको छ। पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्य र सुदूरपश्चिमाञ्चलका १० जिल्लामा हिउँद र पानी नपरेको समयमा मात्र सवारी साधन आवागमन हुने गरेको हो।
सडक भए पनि मौसमीरूपमा सवारी साधन चल्ने र वर्षात्को समयमा सवारी आवागमन गर्न समस्या हुने जिल्लाहरूमा भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, मुस्ताङ, मनाङ, रुकुम, बाजुरा, जुम्ला, कालिकोट र मुगु हुन्। सडक विभागका अनुसार ६३ जिल्लामा मात्रै सबै मौसममा गाडी चल्न सक्छ। ती जिल्लामा कालोपत्रे गरिएका सडक छन्। ‘सडक पुगेका जिल्लामध्ये हामीले अल वेदर्ड र फेयर वेदर्ड गरेर छुट्याएका छौं’, सडक विभागको योजना अनुगमन तथा मूल्यांकन शाखाका इन्जिनियर शुभराज न्यौपानेले भन्नुभयो– ‘अहिलेसम्म ६२ जिल्ला सदरमुकाममा सबै मौसमा गाडी चल्छ, ११ वटामा सफा मौसम हुँदा मात्रै चल्छ।’
सडक नपुगेका जिल्लामध्ये डोल्पामा साढे २३ किलोमिटर सडक ट्रइक खोल्नै बाँकी रहेको छ भने हुम्लामा १ सय ८० किलोमिटर सडक खोल्न बाँकी छ। दुवै जिल्ला सदरमुममा सडक पुर्याउनका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ। डोल्पाको काम पहिल्यैदेखि नेपाली सेनाले गरिरहेकाले ९२ दशमलव ५ किलोमिटर गाडी चल्न सक्ने गरी निर्माण भइसकेको सडक विभागका पूर्वमहानिर्देशक तथा दिगो शहरी यातायातका आयोजना निर्देशक अर्जुनजंग थापाले बताउनुभयो। डोल्पामा नेपाली सेनाले ३ वर्षदेखि नै काम गरेकाले अब अर्को वर्षसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी तयारी गरेको छ। बाँकी रहेको साढे २३ किलोमिटर अर्को वर्ष सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ।
‘हुम्लाको सडक पनि माघ १ गतेदेखि नेपाली सेनालाई जिम्मा दिइएको निर्देशक थापाले बताउनुभयो। ‘कालिकोटको खुलालुदेखि २ सय ३८ किलोमिटर बाँकी सडक खन्न माघ १ गतेसम्म नेपाली सेनालाई जिम्मा दिइएको छ’, निर्देशक थापाले भन्नुभयो– ‘त्यो सडकमा ५ हजार मिटर अग्लो हिमरेखा भएको डाँडा परेकाले निर्माणमा केही ढिलो अर्थात् ३ वर्ष लाग्ने अवस्था छ।’ उक्त सडक निर्माणका लागि नेपाली सेनाले २५ करोड रुपियाँको हाराहारीमा बजेट लाग्ने बताएपछि १४ करोड तत्काल निकाशा दिने र बाँकी रकम देशका अन्य भागमा ठेक्काबाट काम नभएको ठाउँका रकमान्तर गरेर दिने गरी प्रक्रिया अगाडि बढेको सडक विभागले जनाएको छ।
हुम्ला जोड्नका लागि नेपालको बाटो अलि ढिला हुने भए पनि चीनबाट हिल्सा हुँदै आउने ९० किलोमिटर बाटो भने अर्को वर्ष जोडिने उहाँले बताउनुभयो। उक्त सडकका लागि ५ करोड रुपियाँमा कर्णालीको पुल निर्माण कार्य भइरहेको जनाइएको छ।
सडक पक्की गर्न बाँकी रहेका सदरमुकाममध्ये पूर्वका भोजपुर, सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाका सडक एसियाली विकाश बैंकको सहयोगमा र पश्चिममा जुम्ला तथा कालिकोट जिल्लाका सडक विश्व बैंकको सहयोगमा काम भइरहेका छन्। बाजुरा जिल्लाको सडक भने एक्जिम बैंकको ऋणमा स्तरोन्नति भइरहेको छ। रुकुममा नेपाल सरकारबाट शहीद मार्ग निर्माणका रूपमा स्तरोन्नति भइरहेको छ। तर मुस्ताङ, मनाङ र मुगुमा भने अहिलेसम्म कुनै बजेटको कार्यक्रम नभएकाले सडक स्तरोन्नतिको काम भएको छैन। सुर्खेतको खिड्कीज्युलादेखि कालिकोट सदरमुकाम मान्मा हुँदै जुम्ला सदरमुकाम खलंगासम्म जोड्ने १ सय १ किलोमिटर सडक विश्व बैंकको सहयोगमा यसै वर्ष सम्पन्न गर्ने गरी कालोपत्रे गर्ने काम भइरहेको छ। कालिकोट, जुम्ला, सोलुखुम्बु र भोजपुरका सडक अर्को वर्षसम्म स्तरोन्नति सम्पन्न भइसक्ने विभागले जनाएको छ।
सरकारले सन् २००७ मा बनाएको सडकको प्राथमिकीकरण योजनाअनुसार २०१७ सम्म नेपालका सबै सडक पक्की गर्ने योजना छ। तर अहिलेको सडकको अवस्था हेर्दा योजनाअनुसार सम्पन्न हुन नसक्ने विभागका कर्मचारी नै बताउँछन्। ‘२०१७ सम्म सबै सदरमुकामसम्म पक्की सडक पुर्याउने भन्ने थियो तर सम्पन्न हुन सक्ने नदेखिएकाले योजना नै परिमार्जनको तयारी भइरहेको छ।’ –विभागका एक इन्जिनियरले बताए।